
काठमाण्डु, २७ माघ–पाकिस्तानमा बिहीबार सम्पन्न आम निर्वाचनको मतगणना जारी रहँदा जेलमा रहेका पूर्वप्रधानमन्त्री इमरान खानको दल तेहरिक–ए–इन्साफ (पीटीआई) समर्थित उम्मेदवारले अग्रता लिएका छन् ।
सरकारले पीटीआईमाथि प्रतिबन्ध लगाएपछि सो पार्टीका उममेदवारले स्वतन्त्र उम्मेदवारी दिएका थिए । दुई सय ४३ सिटको परिणाम घोषणा हुँदा पीटीआई समर्थित उम्मेदवारले ९८ सिटमा विजय हासिल गरेका छन् ।
यस्तै पूर्वप्रधानमन्त्री नवाज शरीफको पाकिस्तान मुस्लिम लिग (पीएमएल–एन) ६९ सिटमा सीमित भएको छ भने बिलवाल भुट्टो नेतृत्वमाको पाकिस्तान पिपल्स पार्टी (पीपीपीले) ले ५१ सिटमा जित निकालेको छ । त्यहाँको निर्वाचन आयोगका अनुसार अरु साना दलले १५ सिट जितेका छन् । तीन सय ३६ सदस्यीय राष्ट्रियसभामध्ये दुई सय ६६ सिटका लागि मात्र चुनाव भएको हो । बाँकी सिटमा भने समानुपातिक प्रणालीअनुसार दलहरुले सांसद छान्नेछन् ।
राज्यका संवेदनशील सूचना विदेशीलाई बेचेको, सरकार प्रमुखका रुपमा पाएको उपहार बेचेको, अर्काकी श्रीमती विवाह गरेकोसहित फरकफरक मुद्धामा पूर्वप्रधानमन्त्री खानलाई ३४ वर्ष जेल सजाय तोकिएको छ । खानले सामाजिक सञ्जालको प्रयोग गरी जेलभित्रैबाट चुनावी अभियान सञ्चालन गरेका थिए । उनको सो अभियान निर्वाचन जित्नका लागि प्रभावकारी देखिएको विश्लेषणहरु हुन थालेका छन् ।