अर्थतन्त्रको बाह्य क्षेत्र सुधार भयो भनेर खुसी हुने अवस्था छैन: पूर्व अर्थमन्त्री खतिवडा

काठमाण्डु टुडे २०८० माघ २५ गते १३:२७ मा प्रकाशित

काठमाण्डु, २५ माघ– पूर्व अर्थमन्त्री डा. युवराज खतिवडाले विदेशी मुद्रा सञ्चिति र रेमिट्यान्समा भएको सुधारलाई देखाएर अर्थतन्त्रमा सुधार आयो भन्न नसकिने दाबी गरेका छन ।

मंगलवार नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको मुलुकको वर्तमान आर्थिक परिसूचकमा विदेशी मुद्रा सञ्चिति र विप्रेषण (रेमिट्यान्स) मा वृद्धि भएको तथ्याङ्कलाई देखाएर अर्थतन्त्र लयमा आयो भन्न नमिल्ने उनको तर्क छ । उनले अर्थतन्त्रमा उत्पादन, सरकारी वित्त, समग्र वित्तीय क्षेत्र र बाह्य क्षेत्र मध्ये अहिले राम्रो भएको बाह्य क्षेत्र मात्रै भएको बताएका छन ।

उनले बाह्य क्षेत्रमा सुधार भएपनि आन्तरिक रूपमा अर्थतन्त्रमा सुधार नआएको भन्दै सरकारले अर्थतन्त्र लयमा आयो भनेर भन्नु धर्म निर्वाह गर्नु मात्रै भएको बताएका छन । उनले सरकारको आन्तरिक खर्च, वित्तीय प्रणालीमा हुने खर्च र उत्पादन वृद्धि नहुँदा बाह्य क्षेत्रबाट हुने मागमा कमी हुँदा विदेशी मुद्राको सञ्चितिमा वृद्धि भएको बताएका छन ।

उनले उत्पादन, सरकारी वित्त, समग्र वित्तीय क्षेत्र गरी तीनवटा क्षेत्रमा आएको मन्दी र समस्याको परिणाम स्वरूप चौथो बाह्य क्षेत्रमा विदेशी मुद्राको सञ्चिति बढेको देखिएको बताएका छन । पूर्व अर्थमन्त्री खतिवडाले दुई वर्षको बीचमा निर्यात ४० प्रतिशतले घटेको भन्दै चालु आर्थिक वर्ष सकिँदा अढाई वर्ष अगाडिको भन्दा निर्यात आधा हुने अवस्था देखिएको बताएका छन ।

उनले वैदेशिक रोजगारीमा हरेक वर्ष ८ लाख नेपाली युवाहरू जाने र पछिल्लो दुई वर्षमा १५ लाख युवाहरू विदेश गएकोले उनीहरुले पठाएको रेमिट्यान्सको कारण विदेशी मुद्राको सञ्चिति बढेको बताए ।

पर्यटकको आगमन वृद्धि भयो भन्दैमा पनि सरकारले सन्तुष्टि लिन नमिल्ने पनि खतिवडाले बताएका छन । उनले अघिल्लो वर्ष ७ प्रतिशत आर्थिक वृद्धि भएको भए अहिले ४ प्रतिशतको वृद्धि ठिक मान्न सकिने बताएका छन ।

डा.खतिवडाले सरकारको राजश्व चालु आर्थिक वर्षमा ३ देखि ४ खर्बले कम हुने सङ्केत रहेकोले पनि देश गहिरो आर्थिक मन्दीमा जाने बताएका छन । उनले १४ खर्ब २२ अर्ब राजश्व सङ्कलन गर्ने सरकारको लक्ष्य भएपनि ११ खर्ब पनि राजश्व उठाउन मुस्किल रहेको बताएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us