
काठमाण्डु, २३ माघ– राष्ट्रिय युवा संघ, नेपालको आयोजनामा हुने दोस्रो संस्करणको केपी ओली कपको खेलतालिका सार्वजनिक गरीएको छ । यही फागुन ११ गतेदेखि १९ गतेसम्म हुने प्रतियोगिताका लागि आज (मंगलबार) खेलतालिका सार्वजनिक गरेको हो । प्रतियोगितामा दुई विदेशीसहित १० टिमले प्रतिस्पर्धा गर्ने भएका छन ।
प्रतियोगितामा ७ ए डिभिजन क्लब एक आयोजक र दुई विदेशी टिम रहेका छन। भारतको दिल्ली फुटबल क्लबले पहिलो पटक केपी ओली कप खेल्न लागेको छ । यस्तै भारत वेष्ट बंगालको मानेभङ्ज्याङ क्लबले पनि प्रतियोगिता खेल्ने भएको छ । यसअघि भुटानको पारो एफसी आउने भनिए पनि अन्तिम समयमा नआउने भएको आयोजकले जानकारी दिएको छ ।
प्रतियोगिताको उद्घाटन खेलमा केपी ओली फुटबल क्लब र चर्च ब्वाईज युनाईटेडबीच प्रतिस्पर्धा गर्ने भएका छन । खेल दिउँसो ३ बजे सुरु हुनेछ । पूर्व प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी ओलीको जन्मदिनको अवसर पारेर युवा संघले गत वर्षदेखि केपी ओली कप फुटबल आयोजना गर्दै आएको छ । प्रतियोगितामा विजेताले नगद ११ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् ।
उपविजेताले ५ लाख पाउने आयोजकले जानकारी दिएको छ । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई एक लाख रुपैयाँ नगद पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।
यसैगरी सर्वोत्कृष्ट गोलरक्षक, सर्वोत्कृष्ट गोलकर्ता र उदीयमान खेलाडीलाई पनि जनही ५० हजार रुपैयाँ पुरस्कार प्रदान गरिने । हरेक खेलको म्यान अफ दी म्याचले १५ हजार प्राप्त गर्नेछन् ।
यसका अतिरिक्त हरेक खेलको विजेता टोलीले २५ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछ । प्रतियोगिताको खेलहरु एन्फा कम्प्लेक्स मैदानमा हुने र सेमिफाइनल र फाइनल खेल दशरथ रंगशालमा खेलाइनेछ ।
गत वर्ष भएको पहिलो संस्करणमा मछिन्द्र एफसीले सातदोबाटो युथ क्लबलाई सडनडेथमा हराएर उपाधि जितेको थियो ।