नयाँ व्यवसायीलाई करको सिस्टममा जोड्नुपर्अ: अर्थमन्त्री महत

काठमाण्डु टुडे २०८० माघ २३ गते १४:४५ मा प्रकाशित

काठमाण्डु, २३ माघ–अर्थमन्त्री डा.प्रकाशशरण महतले ‘को कहाँ के जिम्मेवारीमा छ भन्नुभन्दा पनि परिणामका आधारमा मूल्यांकन हुने’ बताएका छन । आज मंगलबार कृष्णनगर भन्सार र आन्तरिक राजस्व कार्यालय निरीक्षणपछि कर्मचारीलाई निर्देशन दिँदै अर्थमन्त्री महतले यस्तो बताएका हुन । उनले भने, ‘कर्मचारीका जायज माग सरकारले तत्काल सम्बोधन गर्छ, तर रिजल्ट चाहिन्छ ।

त्यही रिजल्टका आधारमा मूल्यांकन हुन्छ ।’ उनले अनुशासन, पारदर्शिताका साथ व्यवसायको यथार्थ मूल्यांकन गरियो भने राजस्वको लक्ष्य नजिक पुग्न सकिने बताएका छन । उनले व्यवसायको प्रकृति निरन्तर परिवर्तन भइरहेको विषयलाई मध्यनजर गर्न आग्रह गर्दै यस्तो बताएका हुन । उनले भने, ‘हिजो जे–जे थियो, आज त्यो पाइँदैन ।

त्यसकारण के–के व्यवसाय घट्दैछन् र के–के व्यवसाय विकसित हुँदैछन् भन्ने कुरातिर ध्यान दिइयो भने आन्तरिक राजस्व बढ्छ ।’ उनले आन्तरिक राजस्व र भन्सारको अन्योन्याश्रित सम्बन्ध रहेको बताएका छन । उनले भने, ‘कुन वस्तु कानुनी रूपमा आयो, कुन आएन भन्ने कुरा भन्सारबाट छुट्ट्याउन सकियो भने राजस्वको कोणबाट व्यवसाय अनुगमन गर्न सजिलो हुन्छ, ‘अहिले धेरै वस्तुलाई भ्याटको दायरामा ल्याइएको छ, त्यसको अर्थ कारोबार कति भयो, आय कति छ भन्ने पत्ता लगाउन सकिन्छ ।’

होटल, रेस्टुरेन्ट जस्ता सेवा व्यवसाय अहिले बढिरहेको भन्दै उनले भने, ‘नयाँ व्यवसाय दर्ता भएर कति कारोबार गरिरहेका छन् भन्ने कुरा अनुगमन गरिराख्नुपर्छ, करको सिस्टममा जोड्नुपर्छ ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us