बढ्दै विदेशी विनिमय सञ्चिति, १८१६ अर्ब ५७ करोड पुग्यो

काठमाण्डु टुडे २०८० माघ २३ गते १४:०९ मा प्रकाशित

काठमाण्डु, २३ माघ– नेपाल राष्ट्र बैंकले विदेशी विनिमय सञ्चिति बढ्दै गएको देखाएको छ । आज मंगलबार राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको ६ महिनाको तथ्यांकअनुसार कुल विदेशी विनिमय सञ्चिति १८ प्रतिशतले वृद्धि भई पुस मसान्तमा रु.१८१६ अर्ब ५७ करोड पुगेको तथ्मा उल्लेख गरीएको छ । यस्तो सञ्चिति असार मसान्तमा रु.१५३९ अर्ब ३६ करोड बराबर रहेको थियो ।

अमेरिकी डलरमा यस्तो सञ्चिति असार मसान्तमा ११ अर्ब ७१ करोड रहेकोमा पुस मसान्तमा १६.९ प्रतिशतले वृद्धि भई १३ अर्ब ६९ करोड पुगेको बैंकले जानकारी दिएको छ ।

यस्तै कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति असार मसान्तमा रु.१३४५ अर्ब ७८ करोड रहेकोमा पुस मसान्तमा १८.९ प्रतिशतले वृद्धि भई रु.१६०० अर्ब २३ करोड पुगेको छ ।

यस्तै बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंक बाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति असार मसान्तमा रु.१९३ अर्ब ५९ करोड रहेकोमा पुस मसान्तमा ११.८ प्रतिशतले वृद्घि भई रु.२१६ अर्ब ३५ करोड कायम भएको छ ।

पुस मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २२.५ प्रतिशत रहेको बैंकले जानकारी दिएको छ । यस्तै आर्थिक वर्ष २०८०र८१ को पहिलो ६ महिनाको आयातलाई आधार मान्दा बैकिङ्ग क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति १४.५ महिनाको वस्तु आयात र १२.१ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिएको रिपोर्टमा उल्लेख गरीएको छ ।

पुस मसान्तमा विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ्य उत्पादन, कुल आयात र विस्तृत मुद्राप्रदायसँगका अनुपातहरु क्रमशः ३३.८ प्रतिशत, १००.९ प्रतिशत र २७.७ प्रतिशत रहेका छन् । असार मसान्तमा यी अनुपातहरु क्रमशः २८.६ प्रतिशत, ८३ प्रतिशत र २५ प्रतिशत रहेका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us