
काठमाण्डु, १७ माघ– आईसीसी यू–१९ विश्वकप २०२४ को सुपर सिक्स खेलमा नेपालले बंगलादेशलाई १७० रनको लक्ष्य दिएको छ । टस जितेर पहिला ब्याटिङ रोजेको नेपाल ४९.५ ओभरमा १६९ रनमा अल आउट भएको थियो ।
नेपालका मध्यक्रमका ब्याटर विशाल विक्रम केसीले १ सय बलमा ६ चौकासहित सर्वाधिक ४८ रन बनाउन सफल भएका थिए । यस विश्वकपमा उनले पहिलो पटक खेल्ने मौका पाएका हुन् ।
सुपर सिक्स खेल्नु अगावै सेमिफाइनल दौडबाट बाहिरिएपछि नेपालले दीपक डुम्रेको स्थानमा विशाललाई मौका दिएको थियो । कप्तान देव खनाल ६० बलमा ३ चौकासहित ३५ रन बनाउँदै आउट भएका थिए ।
सुवास भण्डारी ३४ बलमा १८ रनमा नट आउट रहे । दुर्गेश गुप्ता १४ बलमा १ छक्कासहित ९ रनमा आउट भए । एक समय ८.३ ओभरमा २९–३ को अवस्थामा पुगेको नेपालका लागि देव र विशालले ११५ बलमा ६२ रनको साझेदारी गरेका थिए ।
उक्त साझेदारीले नेपाल एक समय २७.३ ओभरमा ९१–३ को अवस्थामा रहेको थियो । तर देव जिशान आलमको बलमा कभरमा क्याच आउट भएपछि नेपालले लगातार विकेट गुमाउँदा बलियो योगफल बनाउने अवसरबाट चुक्न पुग्यो ।
गुल्शन झा, दीपक बोहरा र दीपेश कँडेल ३–३ रनमा आउट भएपछि नेपाल समस्यामा परेको थियो । गुल्शन यू–१९ एसिया कपपछि विश्वकपमा पनि चल्न सकेनन् । यस विश्वकपमा गुल्शन न्युजिल्यान्डसँग २, पाकिस्तानसँग १८ र अफगानिस्तानसँग १ रनमा आउट भएका थिए । बंगलादेशका तीव्र गतिका बलरले सुरुवात देखिनै सट र बाउन्सर बलमा नेपाली ब्याटरलाई दबाबमा राखेका थिए ।
अर्जुन कुमाल २६ बलमा २ चौकासहित १४ रनमा आउट भए । विपिन रावल २ र आकाश त्रिपाठी ३ रनमा आउट भएपछि नेपाल ८.३ ओभरमा २९–३ को अवस्थामा पुगेको थियो ।