
काठमाण्डु, १२ माघ– दक्षिण अफ्रिकामा जारी आईसीसी यू–१९ विश्वकप क्रिकेट प्रतियोगिताको प्रारम्भमै नेपालले अफगानिस्तानको दास्रो विकेट पनि लिन सफल भएको छ ।
नेपालका बलर गुल्सन झाले अफगानिस्तानका ओपनर ब्याट्सम्यान नुमन शाहलाई दिपक डुम्रेद्वारा क्याच गराएका थिए । आउट हुनुअघि नुमनले खातासम्म खोल्न सकेका थिएनन् ।
पहिलो ओभरको चौथो बलमा नुमन आउट हुँदा अफगानिस्तानले केवल एक रन बनाउन सफल भएको थियो । त्यसपछि दोस्रो ओभरको तेस्रो बलमा नेपाली बलर आकाश चन्दले अफगानिस्तानको दोस्रो विकेट लिएका हुन ।
आकाशले अफगानिस्तानका खालिद तनिवाललाई शून्य रनमै आउट गरेका थिए । त्यतिबेला अफगानिस्तानले दुई रन सफल भएको थियो । अफगानिस्तानले टस जिती पहिले ब्याटिङ गर्ने निर्णय लिएको हो ।
यो खेलमा नेपाल र अफगानिस्तान दुबै टोली जित्नै पर्ने दबाबमा छन् । समूह ‘डी’ बाट पाकिस्तान र न्युजिल्यान्ड ‘सुपर सिक्स’ चरणमा पुग्ने निश्चित भइसकेकाले पनि नेपाल र अफगानिस्तान दबाबमा रहेका छन ।
आज शुक्रबारको खेलमा विजयी हुने टोली समूह ‘डी’ बाट तेस्रो हुँदै ‘सुपर सिक्स’ चरणमा प्रवेश गर्नेछ । नेपाल र अफगानिस्तान दुबैले यसअघि दुई–दुई हार ब्यहोरिसकेका छन् । नेट रन रेटमा भने अफगानिस्तानभन्दा नेपाल अगाडि रहेको छ ।