यू–१९ विश्वकप: नेपालले पाकिस्तानलाई दियो १९८ रनको लक्ष्य

काठमाण्डु टुडे २०८० माघ १० गते १७:३७ मा प्रकाशित

काठमाण्डु, १० माघ– आईसीसी यू–१९ विश्वकप २०२४ को आफ्नो दोस्रो खेलमा नेपालले पाकिस्तानलाई १ सय ९८ रनको लक्ष्य दिएको छ । बफेलो पार्कमा टस जितेर पहिला ब्याटिङ रोजेको नेपालले निर्धारित ५० ओभरमा सबै विकेट गुमाएर १९७ रन बनाउन सफल भएको थियो । नेपालका लागि ओपनर विपिन रावलले ६८ बलमा ४ र्चौका र १ छक्कासहित सर्वाधिक ३९ रन बनाउन सफल भएका थिए ।

आजको खेलमा नेपालका कुनै पनि ब्याटरले पाकिस्तानविरुद्ध राम्रो प्रदर्शन गर्न सकेनन् । पाकिस्तानका तीव्र गतिका बलर अहमद हसनले ओपनर अर्जुन कुमाल र आकाश त्रिपाठीलाई ६–६ रनमा आउट गर्दै सुरुवातमा दबाबमा राखेका थिए । अर्जुन बोल्ड र आकाश क्याच आउट हुन पुगेका थिए । नेपाल ६.५ ओभरमा ४३–२ को अवस्थामा थियो ।

कप्तान देव खनाल र विपिनले तेस्रो विकेटका लागि ६२ बलमा ३७ रनको साझेदारी गर्दै नेपाललाई एउटा राम्रो योगफलको लोभ देखाएका थिए । तर देव स्पिनर अली असफन्डलाई १८ औं ओभरको पहिलो बलमा लङअनमा सट खेल्ने धुनमा मिडअनमा उबेद साहबाट क्याच आउट भएपछि नेपाल खेलमा फसेको थियो । देवपछि नेपालले लगातार डट र विकेट गुमायो ।

सिनियर टोलीबाट खेलेका गुलशन झाले ४७ बलमा बिना बाउन्ड्री १८ रनमा बनाउन सके । उनी तीव्र गतिका बलर खुबैब खलिलको ३८ औं ओभरको दोस्रो बलमा टप एज लागेर मिडअफमा अरफत मिन्हासबाट क्याच आउट हुन पुगेका थिए । उत्तम थापा मगर ४, दीपेश कँडेल १७ बलमा २ चौकासहित १३ र दीपक डुम्रे २६ रनमा आउट भए ।

डुम्रेले खेलमा १ छक्का प्रहार गर्न सफल भएका थिए । तल्लोक्रममा आकाश चन्द ११ बलमा १ चौका र १ छक्कासहित १६ रनमा नट आउट रहे । सुवास भण्डारीले २४ बलमा २० रन बनाए । नेपालले २६ रन अतिरिक्त पाएको थियो ।पाकिस्तानको सिनियर टोलीबाट खेलेका स्पिनर अरफत मिन्हासले १० ओभरमा ३ मेडनसहित २३ रन खर्चेर ३ विकेट लिए ।

अर्का स्पिनर अली असफन्डले १० ओभरमा मात्रै १५ रन खर्चेर १ विकेट लिए । अहमद हसनले ३ ओभरमा १२ रन खर्चेर २ विकेट लिए । उबेद साहले २, खुबैब खलिल र मोहम्मद जिशानले १–१ विकेट लिएका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us