यू–१९ विश्वकप : गुल्शन झा १८ रन बनाएर आउट

काठमाण्डु टुडे २०८० माघ १० गते १७:२४ मा प्रकाशित

काठमाण्डु, १० माघ– नेपालले आईसीसी यू–१९ विश्वकप २०२४ को आफ्नो दोस्रो खेलमा पाकिस्तानविरुद्ध खेलीरहेको छ । बफेलो पार्कमा जारी खेलमा गुल्शन झा १८ रनमा आउट भएका छन ।

केहि राम्रो सुरुवात पाएपनि शीर्ष पाँच ब्याटर गुमाएपछि रन जोड्न नेपालले लगातार संघर्ष गरेको थियो । त्यसैक्रममा नेपालको सिनियर टोलीबाट खेली सकेका गुल्शन झा १८ रनमा आउट हुन पुगे ।

गुल्शनले ४७ बल खेल्दा कुनै पनि बाउन्ड्री प्रहार गर्न सकेनन् । तीव्र गतिका बलर खुबैब खलिलको ३८ औं ओभरको दोस्रो बलमा गुल्शन मिडअफमा अरपात मिन्हासबाट क्याच आउट भएका हुन ।

सट बलमा ठूलो सट खेल्नेक्रममा टप एज लागेर उनी क्याच आउट भएका थिए । बफेलो पार्कमा टस जितेर पहिला ब्याटिङ रोजेको नेपालले ३८ ओभरमा १३३ रन बनाएको छ । दीपक डुम्रे १२ र दीपेश कँडेल २ रनमा क्रिजमा रहेका छन ।

ओपनर विपिन रावल ६८ बलमा ४ चौका र १ छक्कासहित ३९ रन बनाउँदै आउट भएका थिए । ओपनर अर्जुन कुमाल र आकाश त्रिपाठी ६–६ रन बनाउन सफल भएका थिए । कप्तान देव खनाल र विपिन रावलले तेस्रो विकेटका लागि ६२ बलमा ३७ रनको साझेदारी गर्दै खेलमा फर्काएका थिए । कप्तान देव खनाल ३७ बलमा ३ चौकासहित २३ रनमा आउट भएका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us