आईसीसी यू–१९ विश्वकप न्युजिल्यान्डले नेपाललाई दियो ३०३ रनको विशाल लक्ष्य

काठमाण्डु टुडे २०८० माघ ७ गते १८:०२ मा प्रकाशित

काठमाण्डु, ७ माघ– दक्षिण अफ्रिकामा जारी आईसीसी यू–१९ विश्वकप क्रिकेटको आफ्नो पहिलो खेलमा नेपालले प्रतिद्वन्द्वी न्युजिल्यान्डबाट जितका लागि तीन सय तीन रनको लक्ष्य पाएको छ । शीर्षक्रमका ब्याटर स्नेहित रेड्डीको शानदार शतकमा न्युजिल्यान्डले यू–१९ विश्वकप क्रिकेटमा नेपाललाई ३०३ रनको विशाल लक्ष्य दिएको हो ।

टस जितेर पहिला ब्याटिङ रोजेको न्युजिल्यान्डले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै ३०२ रन बनाउन सफल भएको थियो । न्युजिल्यान्डका स्नेहित रेड्डीले १२५ बलमा ११ चौका र ६ छक्कासहित १४७ रनको सानदार अविजित शतकीय इनिङ खेले । कप्तान ओस्कर ज्याक्सनले ८१ बलमा ३ चौका र ५ छक्कासहित ७५ रनको इनिङ खेले ।

एक समय ६७–३ को अवस्थामा पुगेको न्युजिल्यान्डलाई ज्याक्सन र रेड्डीले चौथो विकेटका लागि १६४ बलमा १५७ रनको शतकीय साझेदारी गर्दै विशाल योगफलको आधार तय गरेका थिए । आकाश त्रिपाठीले ४२ औं ओभरको पाँचौं बलमा ओस्करलाई बोल्ड गर्दै नेपाललाई चौथो सफलता दिलाएकी थिइनन् । त्यसपछि गुल्शन झाले लगातार विकेट लिन सफ भएका थिए ।

गुल्शनले ४३ औं ओभरको दोस्रो बलमा लाचलान स्टकपुल र तेस्रो बलमा ज्याक कमिङलाई क्याच आउट गराउँदै ह्याट्रिक नजिक पुगेका थिए । एलेक्स थोमप्सनले एक रन जोड्दै ह्याट्रिकबाट जोगाएका थिए । न्युजिल्यान्डलाई ओपनर टम जोन्स र ल्यूक वाटसनले पहिलो विकेटका लागि १०.१ ओभरमा ५३ रनको साझेदारी गरेका थिए । स्पिनर सुवास भण्डारीले ११ औं ओभरको पहिलो बलमा ओपनर ल्यूक वाटसनलाई १४ रनमा बोल्ड आउट गर्दै उक्त साझेदारी तोडेका थिए ।

लेग स्पिनर तिलकराज भण्डारीले ओपनर टम जोन्सलाई बोल्ड गरेका थिए । उनले ४५ बलमा ५चौकासहित ३३ रन बनाउन सफल भएका थिए । १५ औं ओभरको तेस्रो बलमा दीपेश कँडेलले ओलिभर टेवाटियालाई शून्यमा क्याच आउट गराएपछि ६७–३ को अवस्थामा पुगेको थियो । त्यसपछि ओस्कर र रेड्डीको साझेदारीमा न्युजिल्यान्डले खेलमा सानदार पूनरागमन गरेको थियो । उक्त साझेदारी तोड्न नसक्नु नेपाललाई घातक बन्यो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us