रोनाल्डो सन् २०२३ को सर्वाधिक गोलकर्ता बन्ने पक्का

काठमाण्डु टुडे २०८० पुष १५ गते १२:०९ मा प्रकाशित

एजेन्सी– सन् २०२३ मा क्रिस्टियानो रोनाल्डो विश्वकै सर्वाधिक गोलकर्ता बन्ने पक्का भएको छ । शनिबार साउदी प्रो लिगमा अल तावोउनविरुद्ध ४–१ को जीत हासिल गर्ने क्रममा गोल गर्दै रोनाल्डोले यो वर्षको ५४ औँ गोल गर्न सफल भएका थिए । पोर्चुगिज फरवार्डले क्लब र देशका लागि औपचारिक प्रतियोगितामा ५४ गोल गरेका हुन ।

योसँगै उनले बायर्न म्युनिखका ह्यारी केन र पेरिस सेन्ट जर्मेनका किलियान एम्बाप्पेको ५२ गोल तथा म्यानचेस्टर सिटीका अर्लिङ हालान्डको ५० गोलको आँकडालाई टपेका हुन् । अब यीमध्ये कुनै पनि खेलाडीले सन् २०२३ मा अर्को खेल खेल्ने छैनन् ।

रोनाल्डो वर्षको सर्वाधिक गोलकर्ता बनेको यो पाँचौँ पटक हो । यसअघि उनले सन् २०११, २०१३, २०१४ र २०१५ मा रियल मड्रिडमा रहँदा यो उपलब्धि हासिल गरेका छन् । सन् २०१६ पछि उनले यति धेरै गोल गरेको पहिलोपटक हो ।

त्यतिबेला ५५ गोल गर्दै उनले पाँचौँ बालोन डी’ ओरको उपाधि जितेका थिए ।३८ वर्षीय खेलाडीले आफ्नो उपलब्धिबारे इन्सटाग्राममा लेखेका छन्, ‘५४।।यो कहिले अन्त्य हुन्छ, म भन्नेछु । धन्यवाद टिम !’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us