डिशहोमद्वारा क्रिकेट खेलाडीलाई पुरस्कार रकम प्रदान

काठमाण्डु टुडे २०८० मंसिर २५ गते १४:४५ मा प्रकाशित

काठमाण्डु, २५ मंसिर– डिशहोमले आईसीसी टी–२० आई विश्वकप छनोटअन्तर्गत घोषणा गरेको पुरस्कार रकम खेलाडीहरुलाई हस्तान्तरण गरेको छ ।

ललितपुरको भैंसेपाटीस्थित प्रधान कार्यालय परिसरमा आयोजित कार्यक्रममा डिशहोमका प्रबन्ध निर्देशक सुदीप आचार्यले पुरस्कार रकम हस्तान्तरण गरेका हुन् । गत २९ अक्टोबरदेखि सुरु भएको आईसीसी टी–२० आई विश्वकप एसिया क्षेत्र छनोटको खेलमा डिशहोम फाइबरनेटले ‘अब इतिहास रच्ने पालो हाम्रो’ भन्ने नारासहित नगद पुरस्कार घोषणा गरेको थियो ।

पुरस्कारअन्तर्गत खेलमा शतक प्रहार गर्ने नेपाली खेलाडीले १० लाख रुपैयााँ, एकै खेलमा शतक र ५ विकेट लिने खेलाडीलाई २० लाख रुपैयाँ दिइने डिशहोमले जनाएको थियो ।
एकै खेलमा ५ विकेट लिएमा ५ लाख, अर्धशतक बनाएमा १ लाख, कम्तीमा ३ विकेट लिएमा १ लाख, कम्तीमा ३५ रन बनाएमा ५० हजार र कम्तीमा ३ क्याच वा स्टम्पिङ गर्ने खेलाडीलाई ५० हजार रुपैयाँ दिइने घोषणा गरिएको थियो ।

नेपाल दश वर्षपछि टी–२० विश्वकपमा छनोट भइसकेको छ । आईसीसी टी–२० विश्वकप एसिया छनोट अन्तर्गत सेमिफाइनलमा युएईलाई ८ विकेटले हराउँदै नेपालले विश्वकपमा स्थान सुरक्षित बनाएको थियो ।

युएईले दिएको १ सय ३५ रनको लक्ष्य नेपालले १७.१ ओभरमा २ विकेट गुमाएर भेट्टाएको थियो ।

कार्यक्रममा प्रबन्ध निर्देशक आचार्यले नेपाली टोलीलाई समर्थन र नेपाली क्रिकेटको प्रवर्द्धन गर्न पाउँदा आफूहरु उत्साहित भएको बताए । उनले आगामी दिनमा नेपाल क्रिकेट संघ (क्यान) आवश्यक साधन स्रोत र सहयोग उपलब्ध गराइने प्रतिबद्धता जनाए ।

कार्यक्रममा क्यान सचिव पारस खड्का, मुख्य प्रशिक्षक, मोन्टी देसाई, नेपाली राष्ट्रिय टिमका कप्तान रोहितकुमार पौडेलसहित खेलाडीहरु समेत उपस्थित थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us