
काठमाण्डु,२४ मंसिर– एसीसी यू–१९ एसिया कप एकदिवसीय क्रिकेट प्रतियोगिताको आइतबारको खेलमा अफगानिस्तानले नेपाललाई जितका लागि दुई सय ६२ रनको लक्ष्य दिएको छ ।
यूएईको दुबईस्थित आईसीसी एकेडेमी मैदानमा टस हारी पहिले ब्याटिङ गरेको अफगानिस्तानले ४९.३ ओभरमा नौ विकेट गुमाएर दुई सय ६१ रन बनाएको हो । अफगानिस्तानका जाम्सीद जार्दानले शतक प्रहार गरेका थिए । अन्तिम ओभरमा रिटायर्ड हट हुनुअघि उनले १०६ रन बनाउन सफल भएका थिए ।
उनले १५२ बलमा ८ चौका प्रहार गरेका छन । जाम्सीदले चौथो विकेटका लागि रहिमुल्लाह जुरमतिसँग ८१ रनको साझेदारी गरेका थिए। सो साझेदारी नेपालका दिपेश कँडेलले तोडेका थिए । २८औं ओभरको अन्तिम बलमा सुवास भण्डारीबाट क्याच हुनुअघि रहिमुल्लाहले ६५ बलमा २ चौकाको मद्दतमा ३५ रन बनाउन सफल भएका थिए ।
रहिमुल्लाहसँगै नुमान शाहले पनि जाम्सीदसँग ९७ रनको साझेदारी गर्दा अफगानिस्तानको स्कोर बढेको थियो। नुमानले ४१ बलमा ५ चौका र ३ छक्काको मद्दतमा ६० रन जोडेको थियो ।अफगानिस्तानका खलिल अहमद १३ रन र कप्तान नशीर खान ४ रनमा आउट भएका थिए ।
त्यसअघि हेमन्त धामीले सातौं ओभरमा लगातार दुई विकेट लिए। उनले सातौं ओभरको तेस्रो बलमा अक्रम मोहम्मदजइ र चौथो बलमा खालिद तानिवालको विकेट लिए। खालिद १० र अक्रम मोहम्मदजई शून्य रनमै आउट भए ।
दोस्रो ओभरमै अफगानिस्तानका ओपनर वाफिउल्लाह ताराखिललाई नेपालका गुल्सन झाले दोस्रो ओभरमा आउट गरे। उनले ९ बलमा २ चौका र १ छक्का प्रहार गरेका थिए। बलिङमा नेपालका हेमन्त धामी, सुवास भण्डारी र गुल्सन झाले २–२ विकेट लिए ।
आकाश चन्द र दिपेश कँडेलले १– १ विकेट लिएका थिए । नेपाल पहिलो खेलमा पाकिस्तानसँग ७ विकेटले पराजित भएको थियो भने अफगानिस्तान पनि भारतसँग ७ विकेटले पराजित भएको थियो । सेमिफाइनल सम्भावना जिवित राख्न दुवै देशलाई आजको खेल जित्नुपर्ने दबाव नेपाललाई रहेको छ ।