
काठमाण्डु, २० मंसिर– विश्व विजेता तथा अर्जेन्टिनाका फुटबल स्टार लिओनल मेसीले टाइम म्यागजिनको ‘एथ्लेट अफ दि इअर’ अवार्ड जितेका छन् ।गत जुलाईमा मेजर सकर लिग टोली इन्टर मायमीमा अनुबन्ध भएका मेसीले सबैखाले प्रतियोगितामा गरी १४ खेलमा ११ गोल गरेका थिए ।
उनकै उत्कृष्ट प्रदर्शनमा इन्टर मायमीले क्लब इतिहासमै पहिलो उपाधिको रुपमा लिग्स कपको उपाधि जित्न सफल भएको थियो । ३६ वर्षीय फुटबल स्टार मेसीले अक्टोबरमा कीर्तिमानी आठौं पटक बालोन डे’ओर अवार्ड समेत जितेका थिए ।
‘लिओनल मेसीले यो वर्ष असम्भव देखिने उपलब्धिहरु हासिल गरेका छन् । जब उनले इन्टर मायमीसँग सम्झौता गरे अनि अमेरिकालाई एउटा फुटबल देशको रुपमा चिनाएका,’ टाइमले लेखेको छ ।
यस्तै टाइमसले मेसीको आगमनले रंगशालामा दर्शकको उपस्थिति, टिकटको मूल्य र मर्चेन्डाइज बिक्रीमा उल्लेख्य वृद्धि तथा एमएलएस खेलको दर्शक बढाउन महत्वपूर्ण योगदान गरेको पनि बताएको छ ।