केपी ओली कप क्रिकेट: कुशल भुर्तेलको शतकमा पुलिसले सजिलै हरायो मधेस प्रदेशलाई

काठमाण्डु टुडे २०८० मंसिर १० गते १७:१४ मा प्रकाशित

काठमाण्डु, १० मंसिर– पोखरामा जारी केपी ओली कप टी—२० क्रिकेट प्रतियोगितामा नेपाल पुलिस क्लबले पहिलो जित हाता परेको छ । पोखरा रंगशालामा आज आइतबार भएको समूह ‘सी’ अन्तर्गतको खेलमा पुलिस क्लबले मधेस प्रदेशको टोलीलाई ५७ रनले हराउन सफल भएको हो । टस जिती पहिले ब्याटिङको निर्णय लिएको पुलिस क्लबले निर्धारित ओभरमा पाँच विकेट गुमाएर एक सय ७५ रन बनाएको थियो ।

जवाफी ब्याटिङमा ओर्लिएको मधेस प्रदेशको टोली भने १८ । २ ओभरमा अलआउट हुनुअघि एक सय १८ रनमात्र बनाएको थियो । ठूलो लक्ष्य पछ्याएको मधेस प्रदेशका ब्याट्सम्यानहरु पुलिस क्लबका बलरसामु निरीह बने । रुपेश सिंहवाहेक मधेस प्रदेशका कुनै पनि ब्याट्सम्यान लामो समय क्रिजमा रहन सकेनन् । आठौँ नम्बरका ब्याट्सम्यान रुपेशले टोलीको खातामा सर्वाधिक ४० रनको योगदान गरे ।

उनले केवल २५ बलको सामना गरी तीन छक्का र तीन चौका प्रहार गरेक थिए । तेस्रो नम्बरका ब्याट्सम्यान इमरान शेखले केही सम्हालिएर खेल्दै २१ बलमा एक छक्का र एक चौकाको मद्दतले २२ रन बनाएका थिए । पवन सर्राफ दुई रनमै आउट भए भने हिमांशु दत्तले खातासम्म खोल्न सकेनन् । रोहन वीकले टोलीको खातामा १० रन थपे । विशाल सुसलिङले चार रन बनाए । राकेश कामतले १० रन जोडे ।

विशाल पटेलले अविजित सात रन र प्रदीप पासवानले ६ रन बनाए । पुलिस क्लबका बलर रसिद खान, ललित राजवंशी, करण केसी र सागर ढकालले दुई—दुई विकेट लिए । कुशल भुर्तेल र सुनिल धमलाले पनि एक—एक विकेट हात पारे । मधेस प्रदेशको टोलीले अतिरिक्त रुपमा पनि १३ रन पाएको थियो । त्यसअघि पुलिस क्लबका लागि कुशल भुर्तेलले सतकीय पाली खेलेका थिए ।

जारी प्रतियोगितामा बनेको यो पहिलो शतक हो । आक्रामक रुपमा प्रस्तुत भएका भुर्तेलले केवल ५७ बलमा सात छक्का र आठ चौकाको मद्दतले टोलीको खातामा एक सय दुई रन थपे ।ओपनर ब्याट्सम्यान भुर्तेलले ५६ बलमा शतक पुरा गरेका थिए । शतक पुरा गरेलगत्तै अर्को बलमा उनी पेभेलियन फर्किएका थिए । उनलाई मधेस प्रदेशका विशाल सुसलिङ आफ्नो बलिङमा आफैले क्याच गरेका थिए ।

१६औँ ओभरको अन्तिम बलमा पेभेलियन फर्किनुअघि भुर्तेल र सुनिल धमलाले पुलिस क्लबका लागि एक सय ३८ रनको साझेदारी गरेका थिए । अर्का ओपनर सुनिल धमलाले टोलीको खातामा ४५ रनको योगदान गरे । धमलाले लामो समय क्रिजमा टिकेर ४७ बलको सामना गरी चार चौका पनि हिर्काएका थिए । उनी तेस्रो विकेटका रुपमा पेभेलियन फर्किएका थिए ।

उनलाई मधेस प्रदेशका बलर विशाल पटेलले विकेटकिपर अनिल साहद्वारा क्याच गराएका थिए । तेस्रो नम्बरका ब्याट्सम्यान रसिद खान भने पाँच रनमा तीन रन बनाउँदै आउट भए । रसिदको विकेट पनि विशाल सुसलिङले नै लिएका थिए । विशालले उनलाई राकेश कामतद्वारा क्याच गराएका थिए । चौथो नम्बरका ब्याट्सम्यान दिलिप नाथ तीन बलमा एक रन बनाउँदै आउट भए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us