गुल्सन झाले यू–१९ एसिया कप खेल्ने

काठमाण्डु टुडे २०८० मंसिर १० गते १४:२३ मा प्रकाशित

काठमाण्डु, १० मंसिर– नेपाली क्रिकेट टिमका अलराउन्डर गुल्सन झाले यू–१९ एसिया कप खेल्ने भएका छन । यू–१९ टिमका प्रशिक्षक जगत टमटाले सिनियर टिमबाट अनुभव बटुलिसकेका गुल्सनको आगमनले टिम सन्तुलित हुने बताएको छ ।

उनले भने, ‘गुल्सन टिममा आउँदा सिनियर टिमको अनुभव लिइसकेको हुनाले प्रेसर ह्यान्डल गर्न सक्छ । उसको आगमनले टिममा थप सन्तुलन मजबुत भएको छ’ । सिनियर टिमबाट समेत एसिया कप खेलिसकेका गुल्सनले एकै वर्ष दुई वटा एसिया कप खेल्न लागेका हुन ।

प्रशिक्षक टमाटाले भने ‘टेष्ट राष्ट्रहरुसँग खेल्ने भएकाले उसको आगमनले टिम थप बलियो हुन्छ । उसको लागि पनि यो खेल खेल्दा अनुभव बढ्दै जान्छ’ । सिनियर टिमबाट खेल्नका लागि पनि गुल्सनलाई यू–१९ एसिया कपको अनुभवले सहयोग पुग्ने टमाटाको भनाइ छ ।

यू–१९ क्रिकेट टिम ६ मंसिरदेखि एसिया कपको तयारीका लागि बन्द प्रशिक्षणमा छ । गुल्सन सहभागी भए पनि टिमको कप्तानी भने देव खनालले नै गर्ने प्रशिक्षक टमटाले बताएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us