केपी ओली कप क्रिकेट: लगातार दोस्रो जितसँगै सन्दीप लामिछाने नेतृत्वको बागमती सेमिफाइनलमा

काठमाण्डु टुडे २०८० मंसिर ८ गते १४:५६ मा प्रकाशित

काठमाण्डु, ८ मंसिर– पोखरामा जारी केपी ओली कप क्रिकेट प्रतियोगितामा लगातार दुई जितसँगै बागमती प्रदेशको टोली प सेमिफाइनलमा पुगेको छ । बागमती प्रदेशले शुक्रबार भएको दोस्रो खेलमा कर्णाली प्रदेश ९० रनले पराजित भएको हो ।

यसअघि बिहीबार खेलिएको आफ्नो पहिलो खेलमा बागमती प्रदेशले मदन भण्डारी स्पोर्टस एकेडेमीको रातो टोलीलाई एकसय नौ रनको फराकिलो अन्तरले हराएको थियो । पोखरा रंगशालामा शुक्रबार खेलिएको खेलमा टस जिती पहिले ब्याटिङ गरेको बागमती प्रदेशले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर एक सय ८९ रन बनाएको थियो । जवाफी ब्याटिङमा ओर्लिएको कर्णाली प्रदेशले १७.३ ओभरमा अलआउट हुनुअघि ९९ रनमात्र बनाउन सक्यो ।

राष्ट्रिय टोलीका प्रभावशाली स्पिनर सन्दीप लामिछानेको कप्तानीमा रहेको बागमतीका लागि ओपनर रित गौतम र तेस्रो नम्बरका ब्याट्सम्यान इशान पाण्डेले उत्कृष्ट अर्धसतकीय पाली खेलेका थिए । रितले ८२ रनको योगदान गरे । आक्रामक रुपमा प्रस्तुत भएका उनले केवल ५९ बलको सामना गरी दुई छक्का र १० वटा चौका हिर्काएका थिए । बागमतीले केवल १६ रनको कुल स्कोरमा आफ्नो पहिलो विकेट गुमाएको थियो ।

पहिलो विकेटका रुपमा ओपनर शुभ कंशाकार चार रन बनाउँदै आउट भएका थिए । त्यसपछि रित र इशानले टोलीको स्कोरलाई एक सय ५९ रनको बलियो स्थितिसम्म पुर्‍याएका थिए । इशानले पनि टोलीको खातामा ७० रन थपे । उनले केवल ३८ बलको सामना गरी ६ छक्का र चारवटा चौका पनि प्रहार गरेका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us