अर्जेन्टिनासँग पराजित भयो ब्राजिल

काठमाण्डु टुडे २०८० मंसिर ६ गते १२:४२ मा प्रकाशित

काठमाण्डु, ६ मंसिर– सन २०२६ मा हुने फिफा विश्वकप को छनोट खेलमा विश्व विजेता अर्जेन्टिना ले ब्राजिललाई पराजित गरेको छ । फिफा विश्वकप २०२६ को छनोट अन्तर्गत बुधबार बिहान भएको खेलमा अर्जेन्टिनाले ब्राजिललाई १–० ले पराजित गरेको हो ।

ब्राजिलको घरेलु मैदान माराकाना स्टेडियममा भएको खेलमा अर्जेन्टिनालाई जित दिलाउन निकोलस ओटामेन्डीले ६३औं मिनेटमा एक मात्र गोल गरे । उनले जिओभानी लो सेल्सोको पासमा गोल गरेका हुन ।

८१औं मिनेटमा जोएलिन्टनले रातो कार्ड पाएपछि ब्राजिल दश खेलाडीमा समेटिएको थियो । दक्षिण अमेरिकी क्षेत्रको छनोटमा पाँचौ जितपछि अर्जेन्टिना खेलबाट १५ अंक जोडेर शीर्ष स्थानमै रहेको छ ।

ब्राजिलको भने यो लगातार दोस्रो हार हो । यसअघि ब्राजिल कोलम्बियासँग पराजित भएको थियो । हारपछि ६ खेलबाट ७ अंक मात्र रहेको ब्राजिल छैटौं स्थानमा झरेको छ ।

छनोटकै अन्य खेलमा उरुग्वेले बोलिभियालाई ३–० ले तथा कोलम्बियाले पाराग्वे र इक्वेडरले चिलीलाई समान १–० ले हरायो । जितपछि उरुग्वे ६ खेलबाट १३ अंक जोडेर दोस्रो स्थानमा रहेको छ । समान खेलबाट १२ अंक जोडेको कोल्मबिया तेस्रो स्थानमा छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us