बिना निष्कर्ष टुंगियो लुम्बिनीमा सरकार विस्तारको लागि बसेको बैठक

काठमाण्डु टुडे २०८० मंसिर ४ गते १७:३३ मा प्रकाशित

काठमाण्डु, ४ मंसिर– आज सोमबार लुम्बिनी प्रदेश सरकार विस्तारका लागि सत्ता साझेदार नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रको बसेको बैठक निष्कर्षविहीन टुंगिएको छ ।

नेकपा (माओवादी केन्द्र)का उपमहासचिव वर्षमान पुन र नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सभापति अमरसिंह पुनको उपस्थितिमा सोमबार दाङको चखौरामा बैठक बसेको थियो तर बैठक निष्कर्षविहीन टुंगिएको हो ।

उक्त बैठकमा लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरी, पूर्वसभामुख ओनसरी घर्ती र माओवादीका लुम्बिनी प्रदेश संसदीय दलका नेता जोखबहादुर महरा समेत सहभागी रहेका थिए ।

उक्त छलफलमा माओवादी केन्द्रका तर्फबाट दीपेन्द्र पुनलाई मन्त्री बनाउने भनिए पनि नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सभापति अमरसिंह पुनले नमानेपछि सहमति जुट्न नसकेको बैठकमा सहभागी एक नेताले जानकारी दिएका छन ।

‘माओवादीले दीपेन्द्र पुनलाई छोडेर सरकारलाई पूर्णता दिन नखोज्ने, कांग्रेस सभापति पुनले दीपेन्द्र पुनलाई स्वीकार नगर्ने यही कारण मन्त्रिमण्डल विस्तारको काम रोकिएको छ, बैठकमा सहभागी ती सदस्यले भने।’

गठबन्धनबाट प्रदेश सभाका उम्मेदवार बनेका अमर सिंह पुनलाई बागी बनेर उम्मेदवार बनेका दीपेन्द्र पुनले हराएपछि दुई नेताहरूका बीचमा अन्तरद्वन्द्व सृजना भएको थियो। निर्वाचन जिते पनि गठबन्धनविरूद्ध उम्मेदवार बनेका व्यक्तिलाई गठबन्धनबाटै मन्त्री बनाउन नसकिने कांग्रेस सभापति पुनको अडान छ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us