
जाजरकोट, ४ मंसिर– जाजरकोटको नलगाड नगरपालिका–८ टापुमा चिसोका कारण एक वृद्धाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा ७० वर्षीया विष्णुकमारी खत्री रहेको प्रहरीले जनाएको छ । खत्री गत १७ कात्तिकमा गएको महाभूकम्पमा परी घाइते भएकी थिइन् । उनको स्थानीय स्वास्थ्य संस्थामा उपचार भएको थियो । भूकम्पले घर भत्किएपछि उनी त्रिपालमुनि बस्दै आएकी थिइन् ।
खत्रीलाई उपचारका लागि लैजाने तयारी गर्दैगर्दा आइतबार मृत्यु भएको वडा अध्यक्ष तेजबहादुर सिंहले बताए । यसअघि पनि चिसोका कारण शनिबार तीन जनाको ज्यान गएको थियो ।
भूकम्पका कारण घरमा क्षति पुगेपछि त्रिपालमा बस्दै आएका जुनीचाँदे गाउँपालिका–४ लुहादहकी ८९ वर्षीया सुगिली नेपाली, बारेकोट गाउँपालिका–१ रामीडाँडाका ७० वर्षीय डुमे पुन र छेडागाड नगरपालिका–१३ थानवाडाकी ५६ वर्षीया मनसरी कामीको यसअघि चिसोका कारण मृत्यु भएको थियो ।
बालबालिका र वृद्धवृद्धामा श्वासप्रश्वाससम्बन्धी समस्या देखिन थालेको छ । यसअघि गत साता नलगाड भेरी र बारेकोटमा गरी चिसोका कारण चारजना दीर्घरोगीको ज्यान गएको थियो । चिसोका कारण पछिल्ला एक सातामा सात जना वृद्धवृद्धाको ज्यान गइसकेको छ ।