पार्टीको सिफारिस विपरीत मन्त्रीका आफन्तलाई नियुक्ति

काठमाण्डु टुडे २०८० मंसिर २ गते १८:३१ मा प्रकाशित

काठमाण्डु,२ मंसिर– लुम्बिनी प्रदेशको दाङको राप्ती प्रादेशिक अस्पताल विकास समितिमा अध्यक्ष नियुक्त गर्दा पार्टीको सिफारिस एउटा तर नियुक्ति भने मन्त्रीको आफन्तले पाएको अखुलेको छ ।

हालै लुम्बिनी प्रदेश सरकारका अर्थमन्त्री धनबहादुर मास्कीले पार्टीको निर्णयविपरीत आफ्नै नातेदारलाई राप्ती प्रादेशिक अस्पताल विकास समितिको अध्यक्ष नियुक्त गरेपछि माओवादी केन्द्र दाङमा विवाद भएको छ ।

मुख्यमन्त्री र स्वास्थ्यमन्त्री नभएका बेला कार्यवाहक मुख्यमन्त्रीको जिम्मेवारीमा रहेका मास्कीले आफ्ना नजिकका मान्छेलाई अस्पताल विकास समितिको अध्यक्ष बनाएको खुलेको छ । माओवादी केन्द्र तुलसीपुर नगर कमिटीको कात्तिक १४ गते बसेको बैठकले शशी किरण ढकाललाई प्रादेशिक अस्पतालको अध्यक्षमा मनोनीत गर्न प्रदेश कमिटीलाई सर्वसम्मत सिफारिस गरेको थियो ।

तर अर्थमन्त्री मास्कीले पार्टीले सिफारिस गरेको व्यक्तिलाई नभई भान्जी ज्वाइँ नाता पर्ने सल्यानका दीपक शाहलाई कात्तिक २३ गते नियुक्त गरेपछि माओवादीभित्र विवाद चर्केको माओवादी नेताहरूले जानकारी दिएका छन ।

तुलसीपुर नगर कमिटीले गरेको सिफारिसविपरीत पार्टीकै मन्त्रीले प्रादेशिक अस्पतालको अध्यक्षमा अर्को प्रदेश कर्णालीबाट सल्यानका शाहलाई मनोनीत गरेकोमा माओवादी केन्द्र तुलसीपुर नगर कमिटीका अध्यक्ष खुसीराम चौधरीले जानकारी दिएका छन । शाह यसअघि सल्यानको शारदा नगरपालिका–१५ मा वडा अध्यक्षमा माओवादी केन्द्रबाट चुनाव लडेर पराजित भएका थिए ।

कात्तिक २३ गते कार्यवाहक मुख्यमन्त्री तथा स्वास्थ्य मन्त्रीको हैसियतमा मास्कीले अस्पताल विकास समितिको अध्यक्षमा मनोनयन गर्ने निर्णय गरेका थिए । जसअनुसार प्रदेशका १३ वटा अस्पताल विकास समितिमध्ये नेपाली काँग्रेसलाई ६, माओवादीलाई ४, जसपा, लोसपा र एकीकृत समाजवादीलाई एक–एक वटा अस्पताल विकास समितिको अध्यक्ष दिइएको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us