

काठमाण्डु,२ मंसिर– पूर्व प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले ७ मङ्सिरमा युवा विद्यार्थीले गर्ने प्रदर्शनमा पार्टीको साथ समर्थन रहेको बताएका छन ।
आज (शनिवबार) पार्टी मुख्यालय च्यासलमा पार्टीको एक कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन । ओलीले ७ गते शान्तिपूर्ण रूपमा सरकारलाई शक्ति देखाउने बताएका छन ।
उनले सो दिन सरकार र दक्षिणपन्थी शक्तिहरूलाई थोरै सङ्केत मात्र गर्ने बताउँदै शान्तिपूर्ण राजनीतिको रूपमा राजनीतिक प्रदर्शन गर्ने बताएका छन । उनले लोकतन्त्रका विरुद्ध औँला उठाउनेलाई शान्तिपूर्ण रूपमा औँलो तल झारिदिने पनि बताएका छन । ओलीले भने–‘हामीले यातना सहेर, अङ्गभङ्ग भएर, जेलनेल सहेर ल्याएको लोकतन्त्र हो यो ।
बेघरबार भएर, बेहालका अनेक स्थितिहरू झेलेर ल्याएको हो, त्यस कारण लोकतान्त्रिक गणतन्त्रलाई चलाउने र औँलो ठड्याउने काम कतैबाट नहोस् भनेर म चेतावनीको भाषामा भन्न चाहन्छु ।
लोकतन्त्रको विरुद्ध लड्ने कुरा त छोड्दिऊँ, लोकतन्त्रको विरुद्ध औँलो ठड्यायो भने त्यो औँलो कसरी तल झार्नुपर्छ शान्तिपूर्ण तरिकाले हामी तल झार्दिन्छौँ ।’