बाँकेमा बालिका बलात्कारीमाथि प्रहरीले गोली चलायो

काठमाण्डु टुडे २०८० मंसिर १ गते १९:१९ मा प्रकाशित

बाँके, १ मंसिर– प्रहरीले बाँकेको जानकी गाउँपालिकामा गोली चलाएको छ ।

फरार प्रतिवादी पक्रन गोली चलाइएको बाँके प्रहरीले जनाएको छ । बाँके प्रहरीका डिएसपी नारायण डाँगीले जानकी गाउँपालिका–४ मा गोली चलाएर आकाश रानालाई पक्राउ गरिएको जानकारी दिए ।

तिघ्रामा गोली लागेर घाइते भएका रानाको नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचार भइरहेको छ ।

राना कर्तव्य ज्यान उद्योग कसुरका फरार प्रतिवादी रहेको डाँगीले बताए । रानासहित केही व्यक्तिले गत ३० कात्तिकमा कोहलपुरमा मीनबहादुर विकमाथि खुकुरी प्रहार गरेका थिए । खुकुरी प्रहारबाट गम्भीर घाइते भएका विकको भारतको लखनऊस्थित एक अस्पतालमा उपचार भइरहेको छ ।

रानाविरूद्ध गत कात्तिक २८ मा नाबालिगमाथि जबरजस्ती करणी प्रयास गरेको आरोपमा प्रहरीमा जाहेरीसमेत परेको डाँगीले जानकारी दिए ती दुई घटनापछि घटनापछि प्रहरीलाई छक्याएर विभिन्न ठाउँमा लुक्कै आएका राना भारत भाग्ने प्रयास गर्दैगर्दा गोली हानेर नियन्त्रणमा लिइएको हो ।

उनी आपराधिक पृष्ठभूमिका भएको पनि प्रहरीले जनाएको छ । डिएसपी डाँगीका अनुसार राना काठमाण्डु जिल्ला अदालतको आदेशमा लागुऔषध मुद्धामा पाँच वर्ष जेल बसेर बाहिर निस्किएका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us