

सुनसरी, २७ कात्तिक– सुनसरीको इनरुवामा पटाका पड्काउँदा आगलागी भएको छ ।
इनरुवा–१ स्थित मुख्य बजारमा आइतबार राति पटाका पड्काउँदा आगलागी भएको हो । आगलागीका कारण इनरुवा–१ स्थित वृद्धिचन जैनको किराना पसल जलेको छ । सुनसरी प्रहरीका डिएसपी नवीनकृष्ण भण्डारीका अनुसार लक्ष्मी पूजाका समयमा स्थानीयले पड्काएको पटाका जैनको घर नजिकै खसेर आगलागी भएको थियो ।
आगलागीबाट जैनको काठको घर र सोही घरमा रहेको किराना पसल पूर्णरुपमा जलेर नष्ट भएको छ । आगलागीका कारण ५० लाखभन्दा बढीको क्षति भएको प्रारम्भिक अनुमान प्रहरीको छ ।
इनरुवा, दुहबी, धरान, कोसी, इटहरी, देवानगञ्ज, रामधुनी नगरपालिकाका दमकलसहित प्रहरी, सशस्त्र प्रहरी, नगर प्रहरी र स्थानीयको प्रयासमा आगलागी नियन्त्रणमा लिइएको थियो । प्रहरीले घटनामा संलग्नको पहिचान गरी कारबाहीको दायरामा ल्याइने जनाएको छ ।