
काठमाण्डु,२६ कातिक– पूर्वी नवलपरासीको देवचुली नगरपालिका–९ मा जीप दुर्घटनामा परी मृत्यु भएका ६ जनामध्ये चारको परिचय खुलेको छ ।
मृत्यु हुनेमा जीप चालक बौदीकाली–६ माझडाँडाका २६ वर्षीय बहादुर आलेमगर, सोही ठाउँका ५५ वर्षीय टेकमान ओनटाकी मगर, ५२ वर्षीया कुमारी राना तथा बुलिङटार गाउँपालिका–४ चुलिबोझाका १२ वर्षीया करिष्मा ठाडा रहेको जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वका प्रहरी नायब उपरीक्षक बेदबहादुर पौडेलले जानकारी दिएका छन ।
बौदीकाली गाउँपालिका माझडाँडाबाट दलदले बजारतर्फ आउँदै गरेको लु१ज ३२७० नम्बरको जीप देवचुली नगरपालिका–९ गोरेघुम्तीमा दुर्घटना हुँदा तीन महिला र तीन पुरुषको घट्नास्थलमै मृत्यु भएको छ । मृतकमध्ये दुई जनाको अझै परिचय खुल्न सकेको छैन ।
जीपमा सातजना सवार थिए । दुर्घटनामा घाइते भएका मध्यविन्दु नगरपालिका–२ मदनपुरका १८ वर्षीय चिरन अर्यालको चितवनको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।