

काठमाण्डु,२६ कातिक– भारतमा जारी १३औँ आईसीसी एकदिवसीय विश्वकपको पहिलो चरणको अन्तिम खेल आज (आईतबार) हुदैँ छ ।प्रतियोगिताको नवौँ चरणको अन्तिम खेलमा आयोजक भारतले नेदरल्यान्ड्सको सामना गर्ने भएको छ ।
उक्त खेल बेंगलौरस्थित एम चिन्नास्वामी स्टेडियममा नेपाली समयअनुसार, दिउँसो २ः१५ बजे सुरु हुने भएको छ । आयोजक भारत जारी विश्वकपको सेमिफाइनलमा पुग्ने पहिलो राष्ट्र हो भने नेदरल्यान्ड्स यसअघि नै उपाधि होडबाट बाहिरिइसकेको टोली हो ।
जारी विश्वकपमा भारत सबैभन्दा बलियो टोलीका रूपमा रहेको छ । यसअघि खेलिएका आठ वटै खेलमा जित हात पारेको भारत १६ अंकसहित तालिकाको शिर्ष स्थानमा रहेको छ । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल आईसीसीको एसोसिएट्स सदस्य नेदरल्यान्ड्स भने आठ खेलबाट चार अंक जोड्दै तालिकामा सबैभन्दा अन्तिम स्थानमा रहेको छ ।
भारत र नेदरल्यान्ड्सबिच आइतबार खेलिने खेलले जारी विश्वकपको सेमिफाइनल समीकरणमा पनि कुनै असर पार्ने छैन । भारत, दक्षिण अफ्रिका, अस्ट्रेलिया र न्युजिल्यान्ड यसअघि नै क्रमशः पहिलोदेखि चौथो हुँदै सेमिफाइनलमा प्रवेश गरिसकेका छन् ।
प्रतियोगिताको सेमिफाइनलमा भारतले न्युजिल्यान्ड र दक्षिण अफ्रिकाले अस्ट्रेलियाको सामना गर्ने टुङ्गो पनि लागिसकेको छ । त्यसले आइतबारको खेलले यो विश्वकपको सेमिफाइनल समीकरणमा कुनै असर पार्ने अवस्था छैन । तर, नेदरल्यान्ड्सका लागि भने भारतविरुद्धको यो खेल निकै महत्त्वपूर्ण छ ।
यो खेलमा भारतलाई हराउन सके नेदरल्यान्ड्सले सन् २०२५ मा आयोजना हुने आईसीसी च्याम्पियन्स ट्रफी खेल्न अवसर पाउने छ । जारी विश्वकप तालिकाको पहिलोदेखि सातौँ स्थानसम्म आउने टोलीले च्याम्पियन्स ट्रफी खेल्न पाउने प्रावधान राखिएको छ ।
च्याम्पियन्स ट्रफीको आगामी संस्करण पाकिस्तानमा आयोजना हुनेछ । त्यसैले पाकिस्तानले आयोजकको हैसियतले नै त्यो प्रतियोगिता खेल्ने अवसर पाउने छ । तर, पाकिस्तान जारी विश्वकप तालिकाको पाँचौँ स्थानमा छ । त्यसैले पाकिस्तानको स्थानमा अर्को एक राष्ट्रले च्याम्पियन्स ट्रफीमा सहभागिता जनाउने अवसर पाउने छ ।
यसको अर्थ जारी विश्वकप तालिकाको आठौँ स्थानमा रहने टोलीले पनि आगामी च्याम्पियन्स ट्रफी खेल्न पाउने छ । हाल चार अंकसहित श्रीलङ्का जारी विश्वकप तालिकाको नवौँ स्थानमा छ । चार अकसहित बंगलादेश तालिकाको आठौँ स्थानमा आसिन छ । तर, आइतबारको खेलमा भारतलाई हराउन सके नेदरल्यान्ड्स ६ अंकसहित तालिकाको आठौँ स्थानमा उक्लने छ ।
त्यसपछि नेदरल्यान्ड्स च्याम्पियन्स ट्रफीका लागि पनि छनोट हुनेछ । तर, यो सम्भावना निकै कम देखिन्छ । किनभने यो विश्वकपमा सबैभन्दा बलियो टोलीको रूपमा देखा परेको आयोजक भारत अन्तिम खेलमा पनि सफलता हात पार्दै आफ्नो अपराजित छवि कायम राख्ने योजनामा रहने छ ।