
काठमाण्डु, १९ कात्तिक– आइसिसी टी–२० विश्वकप एसिया छनोटअन्तर्गत उपाधि खेलमा नेपालले ओमानलाई १ सय ८५ रनको लक्ष्य दिएको छ ।
ब्याटस्मयानद्वय गुल्सन झा र रोहितकुमार पौडेलले अर्धशतक प्रहार गरेको खेलमा नेपालले ओमानलाई १ सय ८५ रनको लक्ष्य दिएको हो ।
कीर्तिपुरस्थित त्रिवि मैदानमा टस जितेर पहिले ब्याटिङ रोजेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ८४ रन जोडेको हो ।
नेपालका लागि गुल्सन झाले सर्वाधिक ५४, कप्तान रोहितकुमार पौडेलले नटआउट ५२, कुशल भुर्तेलले ३१, करण केसीले २०, सन्दीप जोराले १०, आशिफ शेखले ६, कुशल मल्लले ३ र विवेक यादवले १ रनको योगदान गरे । यसअघि समूह चरणको खेलमा नेपाल ओमानसँग ५ रनले पराजित भएको थियो ।
नेपालका लागि गुल्सनले ५ चौका र ४ छक्का प्रहार गरे । पाँचौ विकेटका लागि उनले कप्तान रोहितकुमार पौडेलेसँग ७८ रनको साझेदारी गरे । यस्तै नटआउट ५२ रन जोडेका कप्तान पौडेलले ३७ बलमा ५ चौका र २ छक्का प्रहार गरे ।
करण केसीले ५ बलमा १ चौका र २ छक्का प्रहार गरे । नेपालले अन्तिम ओभरमा ओमानका फयज बटलाई २४ रन प्रहार गरेको थियो । पहिलो १० ओभरमा ६० रनमा सीमित भएको नेपाल पछिल्लो १० ओभरमा १ सय २४ रन बनायन सफल भयो ।
बलिङमा ओमानका विलाल खानले ३ विकेट लिए । दुवै टिमले यसअघि नै सेमिफाइनल जितेर आगामी वर्ष वेस्ट इन्डिज र अमेरिकामा हुने टी–२० विश्वकप यात्रा तय गरिसकेका छन् ।