
काठमाण्डु, १७ कात्तिक– आइसिसी टी–२० विश्वकपअन्तर्गत एसिया छनोटको सेमिफाइनलमा युएईले नेपाललाई १ सय ३५ रनको लक्ष्य दिएको छ ।
मुलपानी क्रिकेट मैदानमा शुक्रबार टस जितेर पहिले ब्याटिङ गरेको युएईले ९ विकेटको क्षतिमा १ सय ३४ रन जोडेको हो । युएईका लागि वृत्य अरिवन्दले अर्धशतक प्रहार गरे । अन्तिम ओभरको पहिलो बलमा कुशल मल्लबाट क्याचआउट हुनुअघि उनले ५१ बलमा ८ चौका र २ छक्का प्रहार गर्दै ६४ रन बनाए ।
नेपालले चौथो औभरमा दुई विकेट लियो । चौथो ओभरको पहिलो बलमा सोमपाल कामीले युएईका ओपनिङ ब्याटर खालिद शाहलाई ३ रनमा रनआउट गरे । सोमपालले नै सोही ओभरको चौथो बलमा मोहमद वासीमलाई २६ रनमा करण केसीबाट आउट गराए । वासीमले १६ बलमा ३ चौका र २ छक्का प्रहार गरे । सन्दीप लामिछानेले नेपालका लागि तेस्रो विकेट लिए । नेपालका लागि कुशल मल्लले १४औं ओभरमा चौथो विकेट लिए । उनले अलिशान सराफुलाई १६ रनमा सोमपाल कामीबाट आउट गरेका थिए ।
नेपालका लागि कप्तान रोहित पौडेलले पाँचौ विकेट लिए । उनले युएईका अली नासीरलाई ४ रनमा कुशल भुर्तेलबाट क्याच गराए । सन्दीपले १८औं ओभरमा बासील हमीदलाई १ रनमा आउट गरे । अन्तिम ओभरमा उनले २ विकेट लिए । कुशलले ३ ओभरमा १० रन खर्चिए ।
सन्दीप लामिछानेले २ विकेट लिए । सन्दीपले ४ ओभरमा १ मेडन राख्दा १४ रन मात्र खर्चिए । यस खेलमा विजयी हुने टिम आगामी वर्ष अमेरिका र वेस्ट इन्डिजमा हुने टी–२० विश्वकपमा छनोट खेलमा सहभागी हुनेछ । यो खेल जिते नेपालले १० वर्षपछि टी–२० विश्वकपको यात्रा तय गर्नेछ ।