ओमानले नेपाललाई दियो १४६ रनको लक्ष्य

काठमाण्डु टुडे २०८० कार्तिक १६ गते ११:३० मा प्रकाशित

काठमाण्डु, १६ कात्तिक– आइसिसी टी–२० विश्वकप एसिया छनोटमा ओमानले नेपाललाई १ सय ४६ रनको लक्ष्य दिएको छ । टस जितेर फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको ओमानले ९ विकेटको क्षतिमा १ सय ४५ रन जोडेको हो ।

ओमानका ओपनर कश्यप प्रजापतिलाई नेपालका करण केसीले पहिलो ओभरको पाँचौ बलमा ८ रनको व्यक्तिगत स्कोरमा आउट गरे । यस्तै सोमपाल कामीबाट ओमानका अबिक इल्यास चौथो ओभरको पहिलो बलमा २ रनमा बोल्ड भए ।

नेपालका लागि तेस्रो विकेट गुल्सन झाले पाँचौ ओभरको अन्तिम बलमा लिन सफल भए । सोमपाल कामीले छैटौं ओभरमा सोमपाल सोएब खानलाई शून्यमै बोल्ड गरे । सन्दीप लामिछानेले नेपालका लागि पाँचौ र छैटौं विकेट लिए । १४औं ओभरको पहिलो र दोस्रो बलमा सन्दीपले लगातार दुई विकेट लिएका हुन् । उनले आयान खानलाई १८ रनमा र मोहरान खानलाई शून्यमा बोल्ड गरे ।

अभिनास बोहराले ओमानका कप्तान जीशन मक्सुदलाई ३२ रनमा विकेटकिपर आसिफबाट क्याच गराए । उनले २६ बलमा १ चौका र ३ छक्का प्रहार गरे । १८औं ओभरको दोस्रो बलमा छक्का प्रहार गरेका ओमानका नीशन खुसीलाई २५ रनमा करण केसीले सन्दीपबाट क्याच गराए । करणले अन्तिम ओभरमा कलिमुल्लाहलाई ५ रनमा आउट गरे । ओमानका सकिल अहमद २२ रनमा नटआउट रहे ।

बलिङमा नेपालका करण केसीले ३ विकेट लिए । सन्दीप लामिछाने र सोमपाल कामीले २/२ विकेट लिन सफल भए । गुल्सन झा र अभिनास बोहराले १÷१ विकेट लिए । समूह ‘ए’ मा नेपाल र ओमान यसअघि नै दुई खेल जितेर सेमिफाइनल पुगिसकेका छन् । नेपालले पहिलो खेलमा सिंगापुरविरुद्ध ८ विकेट र दोस्रो खेलमा मलेसियाविरुद्ध ६ विकेटको जित निकालेको थियो । ओमानले पहिलो खेलमा मलेसियालाई ३२ रन र दोस्रो खेलमा सिंगापुरलाई २२ रनले हराएको थियो । आजको खेलबाट समूह विजेताको टुंगो लाग्नेछ ।

समूह ‘ए’ को विजेताको समूह ‘बी’ को उपविजेता र समूह ‘ए’ को उपविजेताको समूह ‘बी’ को विजेतासँग सेमिफाइनलमा भेट हुनेछ ।
समूह ‘बी’ बाट युएई सेमिफाइनल प्रवेश गरिसकेको छ । बाँकी एक टिमको टुंगो आजको खेलबाट लाग्नेछ । एसिया छनोटको फाइनल पुग्ने २ टिमले आगामी वर्ष अमेरिका र वेस्ट इन्डिजमा हुने टी–२० विश्वकप खेल्नेछन्

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us