दसैंको टिकाको साइतः कात्तिक ७ गते बिहान ११ बजेर २ मिनेटमा

काठमाण्डु टुडे २०८० असोज १६ गते २१:११ मा प्रकाशित

काठमाण्डू, १६ असोज- नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको दसैंको साइत सार्वजनिक गरेको छ । जसअनुसार विजयादशमीको उत्तम साइत कात्तिक ७ गते बिहान ११ः०२ बजे रहेको छ ।

यस वर्षको बडादसैं अर्थात् दुर्गा पक्षको सुरूआत भने असोज २८ गते आइतबार हुनेछ ।  जसलाई नवरात्रारम्भ पनि भनिन्छ। त्यस दिन बिहान ११ः२९ बजे घटस्थापना गर्ने साइत रहेको समितिका कार्यकारी निर्देशक सूर्यप्रसाद ढुङ्गेलले जानकारी दिए ।

घटस्थापनाका दिन चित्रा नक्षत्र र वैधृति योग परेकाले दुवैको शान्ति गरेर घटस्थापना गर्नु शास्त्रसम्मत् हुने पनि उनले बताए ।

कात्तिक ७ गते विजयादशमीका दिन बिहान १०ः३७ बजे देवी विसर्जनको साइत रहेको छ ।  देवी विसर्जन सकेपछि दुर्गाको प्रसाद ग्रहण गर्न दिनभर कुनै बाधा नभए पनि साइत खोज्नेका लागि बिहान ११ः०२ बजेको साइत दिइएको समितिले जनाएको छ ।.

गत साउन महिनामा अधिकमास परेका कारण यस वर्ष असोज अन्तिमदेखि नेपालीको महान् पर्व बडादसैं सुरू हुँदैछ ।  कात्तिक पहिलो साता बडादसैँको मुख्य दिनअर्थात् विजयादशमी परेको छ । कात्तिक ११ गते कोजाग्रत पूर्णिमा मनाएपछि १५ दिन लामो बडादसैं पर्व समाप्त हुन्छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us