
काठमाण्डु, १६ असोज–माओवादी केन्द्रका उपमहासचिव एवं सांसद जनार्दन शर्माले माओवादीले २०५२ साल फागुन १ गते जनयुद्ध थालेको दिनलाई महान दिनको संज्ञा दिएका छन् ।
मंगलबार प्रतिनिधिसभामा बोल्दै उनले जनयुद्धकै कारण नेपालमा राजनीतिक परिवर्तन र संघीय लोकतान्त्रिक गणतन्त्रको संविधान बन्न सम्भव भएको बताए । शर्माअघि बोलेका एमाले अध्यक्ष केपी ओलीले जनयुद्ध दिवसका दिन सार्वजनिक बिदा दिने निर्णय रद्ध गर्न प्रधानमन्त्री पुष्पकमल दाहाललाई आग्रह गरेका थिए ।
ओलीपछि बोलेका शर्माले ओलीको भनाइको प्रतिवाद गरे । ‘संविधानमा जनताका जे अधिकारहरु लेखिएका छन् । ती लेखिएका अधिकारहरुलाई यो सार्वभौम संसदसम्म आएर सार्वभौम बनाउने एउटा ऐतिहासिक प्रक्रियाको थालनी भएको दिन हो फागुन १ गते, शर्माले भने, ‘जहाँ गरिबहरुले उत्पीडकहरु, महिलाहरु, जनजाति, मधेशीहरु, दलित, मुस्लिमहरुले आफ्नो आवाज बुलन्द गरेको महान दिन हो ।’
जनयुद्धका कारण सात सालदेखि अधुरा रहेका आन्दोलनहरुलाई संघीय लोकतान्त्रिक गणतन्त्रको रुपमा र संविधानसभामार्फत नयाँ संविधान दिन सम्भव भएको दाबी उनले गरे ।
‘त्यस्तो ऐतिहासिक दिनको लागि सम्मान गर्ने सरकारलाई विशेष धन्यवाद दिन चाहन्छु । यो जनताको सम्मान हो । परिवर्तनको सम्मान हो । हामीले प्राप्त गरेको अधिकारको सम्मान हो’, शर्माले भने ।