
काठमाण्डू, १४ असोज–सरकारले पेट्रोलियम पदार्थको मूल्य ह्वात्तै बढाएको छ । नेपाल आयल निगमले गएरातिबाट लागू हुने गरी पेट्रोल, डिजेल, मट्टीतेल, खाना पकाउने ग्यास र हवाइ इन्धनको मूल्य एकैपटक बढाएको हो ।
पेट्रोल लिटरमा दुई रूपैयाँ र डिजेल तथा मट्टीतेल लिटरमा ६ रूपैयाँ मूल्य बढेको हो । खाना पकाउने ग्यासको मूल्य प्रतिसिलिन्डर दुईसय १५ रूपैयाँले बढाइएको छ ।
हवाइ इन्धन आन्तरिकतर्फ लिटरमा ८ रूपैयाँ र बाह्यतर्फ प्रतिकिलोलिटर ६० डलर बढेको छ ।
स्वचालित मूल्य प्रणालीअन्तर्गत भारतीय आयल कर्पोरेसन (आइओसी) ले पठाएको मूल्यसूची अनुसार निगमले मूल्य बढाएको हो ।निगमका अनुसार आइओसीले पेट्रोलमा प्रतिलिटर १ रूपैयाँ ३४ पैसा, डिजेलमा चार रूपैयाँ ८२ पैसा, ग्यासमा एक सय ७३ रूपैयाँ ४५पैसा र हवाइ इन्धनमा प्रतिलिटर ६ रूपैयाँ ५४ पैसा बढाएर नयाँ मूल्य सूची पठाएको छ । निगमले मूल्य अभिवृद्धि करको प्रभाव एवंहालसालै लागू भएको पेट्रोलियम पदार्थ तथा ग्यासको स्वचालित मूल्य प्रणाली कार्यविधि–२०८० अनुसार आइओसीले पठाएको मूल्यमानेपाली बजार मूल्य निर्धारण गरिएको जनाएको छ ।