हुम्लाबाटै कैलाश र मानसरोबर जाने व्यवस्था मिलाइने प्रधानमन्त्रीको घोषणा

काठमाण्डु टुडे २०८० असोज ११ गते १९:०६ मा प्रकाशित

काठमाण्डु, ११ असोज– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले हुम्लाको बाटो भएर हिन्दूहरुको पवित्र तिर्थस्थल कैलाश पर्वत र मानसरोबारको सजिलै भ्रमण गर्न सकिने व्यवस्था मिलाइने बताएका छन् ।

बिहीबार कैलाश पर्वत र मानसरोबर ताल क्षेत्रको भ्रमणपछि उनले नेपाली, भारतीय र अन्य देशका पर्यटकले समेत हुम्लाको बाटो भएर सजिलै भ्रमण गर्न पाउने व्यवस्थाका लागि चीन सरकारसँग सैद्दान्तिक सहमति गरिएको जानकारी दिए ।

सिमकोटबाट कैलाश पर्वततर्फ ओहोरदोहोर गर्न गुणस्तरीय बाटो निर्माणको काम छिट्टै अघि बढ्ने बताएको उनको निजी सचिवालयले जनाएको छ ।

चीनको स्वशासित क्षेत्र तिब्बतको पश्चिम भाग ङारीबाट कैलाश मानसरोबर करिब २ सय ५० किलोमिटरको दूरीमा छ । हुम्ला सदरमुकाम सिमकोटबाट १ सय ६० किलोमिटर र नेपाल चीन सीमानाबाट भने ७० किलोमिटरको दूरीमा कैलाश पर्वत रहेको छ ।

सिमकोटबाट कैलाशसम्म सडक सञ्जाल जोडिए पनि ट्रयाकमात्रै खोलिएकाले यात्रा गर्न असहज छ । प्रधानमन्त्रीले उक्त सडकको गुणस्तर वृद्दिको काम छिट्टै अघि बढाइने बताए ।

कैलाश पर्वतबाट केही तल तिब्बती भागमै मानसरोबर ताल रहेको छ । मानसरोबर ताल पनि हिन्दूहरुका लागि पवित्र तिर्थस्थल हो । कैलाश पर्वतमा बस्ने महादेबले यही मानसरोबर तालमा स्नान गर्ने गर्दछन् भन्ने हिन्दू धर्मावलम्बीहरुको जनविश्वास छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us