काठमाण्डु, १० असोज– अध्यक्ष केपी ओलीको चाहनाविपरीत एमालेको बागमती प्रदेशको नेतृत्व चयानका लागि अन्ततः निर्वाचन नै हुने भएको छ ।
ओली निर्वाचन रोकेर माथिबाटै नेतृत्व तोक्ने पक्षमा थिए । प्रदेश अधिवेशन उदघाटन समारोहलाई सोमबार भृकुटीमण्डपमा सम्बोधन गर्दै ओलीले स्पष्ट रुपमा आफू चुनावको पक्षमा नरहेको सन्देश दिएका थिए ।
उनले सर्वसम्मति पनि लोकतान्त्रिक प्रक्रिया भएको भन्दै निर्वाचनमा नजान अप्रत्यक्ष दबाब दिएका थिए । तर, कार्यकर्ता तहमा ओलीको निर्देशन वा दबाब लागू भएन र बिहीबार निर्वाचन हुने भयो ।
बुधबार अध्यक्षमा ५ सहित विभिन्न पदका लागि २५ जनाले उम्मेदवारी दिएका छन् । अध्यक्ष पदमा कृष्णप्रसाद दाहाल, कैलाश ढुंगेल, सानु श्रेष्ठ, केशरबहादुर बुढाथोकी र केशव पाण्डेले उम्मेदवारी दर्ता गराएका छन् । श्रोतका अनुसार ओलीको समर्थन रामेछापका ढुंगेललाई छ ।
ढुंगेललाई सर्वसम्मत गराउनकै लागि ओलीले निर्वाचनमा नजान दबाब दिएको एक नेताले जानकारी दिए । उपाध्यक्षमा नारायणप्रसाद खतिवडा, दावादोर्जे लामा, सुवासचन्द्र ठकुरी, ईश्वरचन्द्र पोखरेल र राजेन्द्र राजथलाले उम्मेदवारी दिएका छन् ।
यस्तै सचिवमा रत्न गुरूङ, नवराज सिलवाल, हस्तबहादुर पण्डित र रामकुमार अधिकारीले उम्मेदवारी दर्ता गराएको निर्वाचन समितिले जनाएको छ । दुई उपसचिवका लागि १२ जनाको उम्मेदवारी परेको छ ।
खड्गबहादुर खत्री, गंगादेवी श्रेष्ठ, डबल पाण्डे, टासी लामा, भक्तकुमारी लामा, ओमराज पन्त, ठाकुरप्रसाद गजुरेल, कृष्णहरि थापा, रमेश महर्जन, प्रेमबहादुर महर्जन, राजेन्द्र श्रेष्ठ र रीता गौतम ढकालले सचिवका लागि उम्मेदवारी दिए ।