प्रचण्ड र चिनियाँ जनकँग्रेस अध्यक्षबीच भेटवार्ता

काठमाण्डु टुडे २०८० असोज ८ गते ८:३३ मा प्रकाशित

काठमाण्डु, ८ असोज– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र चिनियाँ राष्ट्रिय जनकँग्रेस स्थायी समितिका अध्यक्ष झाओ लेजीबीच भेटवार्ता भएको छ ।
उनीहरुबीच बेइजिङस्थित ‘ग्रेट हल अफ द पिपुल’ मा सोमबार बिहान भेटवार्ता भएको हो । भेटमा बीआरआई कार्यान्वयन, ऊर्जा र कृषि क्षेत्रमा सहकार्य गर्ने विषयमा छलफल भएको चीनका लागि नेपाली राजदूत विष्णुपुकार श्रेष्ठले जानकारी दिए ।

प्रचण्ड आइतबार हाङझाओबाट बेइजिङ पुगेका थिए । हाङझाओमा उनले राष्ट्रपति सी जिनफिङसँग शिष्टाचार भेटवार्ता गरेका थिए । उनीहरुबीच दक्षिण एसियाको क्षेत्रीय विकास, स्थायित्व र साझेदारीबारे कुराकानी भएको थियो । संयुक्त राष्ट्रसंघीय महासभामा सहभागी भएर प्रचण्ड ५ असोजमा न्यूयोर्कबाट सिधै चीन उडेका थिए ।

प्रचण्डले आज चिनियाँ समकक्षी ली छ्याङसँग औपचारिक भेटवार्ता गर्नेछन । भेटपछि विभिन्न द्विपक्षीय समझदारी र सम्झौतामा हस्ताक्षर गर्ने कार्यक्रम छ । ३० भदौमा न्यूयोर्क प्रस्थान गरेका प्रधानमन्त्री ल्हासा हुँदै१३ असोजमा स्वदेश फर्कने कार्यक्रम छ ।

 

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us