
काठमाण्डु, २८ भदौ– काठमाण्डु मानगरका प्रमुख बालेन्द्र साह विश्वका सय उदयीमान नेताको सूचीमा परेका छन् ।
टाइम म्यागजिनले तयार पारेको विश्वका सय उदीयमान नेताको सूचीमा साह पनि समेटिएका हुन् । सन् २०२२ मा काठमाण्डुको मेयरमा स्वतन्त्र उम्मेदवारी दिएदेखि नै साह सम्भावित विजेताका रूपमा देखा परेको जनाएको छ । बालेन्द्रको चस्मा र पहिरन ‘ब्रान्ड’ का रूपमा स्थापित भएको टाइमले जनाएको छ । टाइमका अनुसार मुलधारका राजनीतिक दलहरूप्रतिको आक्रोशलाई स्ट्रक्चरल इन्जिनियरिङमा स्नातकोत्तर गरेका ३३ वर्षीया बालेन्द्रले सामाजिक सञ्जाल टिकटक, ट्विटर र इन्स्टाग्राममार्फत् आफ्नो पक्षमा पारेका हुन् । ०७२ सालको महाभूकम्पका कारण क्षतिग्रस्त काठमाण्डु महानगर बनाउने सरल बाचा प्रस्तुत गरेका कारण उनले मतदाताको मन जित्न सफल भएको टाइमको निस्कर्ष छ ।
फोहोर व्यवस्थापन, सरसफाइ, सुरक्षित पिउने पानी, सफा सडक, र शहरी विकासको साथसाथै सांस्कृतिक सम्पदाको संरक्षणमा बालेनले प्रतिबद्धता जनाएको म्यागेजिनले उल्लेख गरेको छ ।
बालेनले ल्यान्डफिल साइट प्रयोग गर्न विभिन्न सम्झौतामा हस्ताक्षर गरेको, फोहोरको वर्गीकरण सुरु गरेको पनि बताएको छ । तर, सहरी क्षेत्रमा गैरकानूनी रुपमा निर्माण भएका संरचना र घरहरु भत्काएका कारण सहरी क्षेत्रमा बासोबास गर्ने गरिब वर्गमा बालेन्द्रप्रति सकारात्मक धारणा नहरेको विषय पनि म्यागेजिनले उठाएको छ ।