खुलापनका पक्षधर नेम्वाङलाई प्रेस जगतले सम्झिइरहने छः संसदीय मामिला

काठमाण्डु टुडे २०८० भदौ २६ गते १३:०० मा प्रकाशित

काठमाण्डु, २६ भदौ– संसदीय मामिला पत्रकार समाजले संविधानसभा अध्यक्ष एवं एमाले उपाध्यक्ष सुवासचन्द नेम्वाङको निधनमा दुःख व्यक्त गरेको छ ।

मामिलाका महासचिव जयसिंह महराले मंगलबार एक विज्ञप्ति जारी गर्दै नेम्वाङप्रति श्रद्धाञ्जली अर्पण गर्नुका साथै शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट गरेका हुन् ।

संविधानसभाबाट जारी नयाँ संविधानमा पूर्ण प्रेस स्वतन्त्रताको प्रावधान राख्न नेम्वाङले खेलेको नेतृत्वदायी भूमिकाको प्रेस जगतले सदा स्मरण गरिरहने विज्ञप्तिमा उल्लेख छ ।

संसदीय समितिमा पत्रकारको नियमित प्रवेशको व्यवस्था मिलाउन तथा प्रतिनिधिसभा नियमावली २०७९ मा लवी रिपोर्टिङको व्यवस्था गर्न नेम्वाङले महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको थियो’, विज्ञप्तिमा भनिएको छ ,‘संसदीय व्यवस्थामा खुलापनका पक्षधर नेम्वाङलाई संसदीय मामिलामा कलम चलाउने पत्रकारले सम्झिरहने छन् ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us