
गोरखा, २३ भदौ– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले माओवादी केन्द्रलाई जनताको पार्टीको रुपमा फेरि स्थापित गर्ने दाबी गरेका छन् ।
गोरखाको भच्चेकमा शनिबार आयोजित एक कार्यक्रममा उनले पार्टी पुनः निर्माणको अभियान सुरु भइसकेको बताए । ‘माओवादी केन्द्रलाई फेरि जनताको पार्टीका रुपमा स्थापित गरिन्छ’, उनले भने, ‘त्यसका लागि अभियान सुरु भइसकेको छ ।’
नेपाली जनताको ठूलो त्याग र तपश्याबाट प्राप्त राजनीतिक उपलब्धी रक्षाका लागि पनि पार्टी बलियो बनाउनैपर्ने उनको भनाइ थियो । ‘जनताको पार्टीको रूपमा स्थापित गर्दै जनताको पार्टीको काम गर्ने एकमात्र पार्टीको माओवादी हो भन्ने रूपमा स्थापित गर्न सफल पनि हुन्छौं,’ उनले भने । प्रचण्डले आफू चुनौतीपूर्ण अवसरका रुपमा तेश्रोपटक प्रधानमन्त्री बनेको बताए ।
आफ्नो नेतृत्वमा सकार बनेपछि पासपोर्ट र यातायातमा लाइन हटाउने तथा भ्रष्टाचारविरोधी अभियान चलाएर नयाँ परिवर्तनको सुरूवात गरेको उल्लेख गरे ।
भ्रष्टाचारविरोधी अभियानले जनतामा उत्साह जागेको भए पनि भष्ट्राचारमा रमाउमाउनेहरू अत्तालिएको टिप्पणी उनको थियो ।
सुशासन र समृद्धिलाई प्राथमिकता दिंएर सरकार अगाडि बढेको बताउँदै प्रधानमन्त्री बुढिगण्डकी जलविद्युत आयोजनाको काम सुरुवात गरिएको, कर्णाली चिसापानी जस्तो गेम चेन्जर आयोजना सुरूवात गरिएको दाबी गरे ।
आफ्नो आसन्न चीन भ्रमणका क्रममा नेपालको विकास र उत्तरी क्षेत्रका नाका खोल्ने लगायतका एजेन्डामा काम हुने जानकारी दिए ।