
ताप्लेजुङ, २३ भदौ– कांग्रेस निकट तरुण दल र नेविसंघको प्रदर्शन उग्र भएपछि प्रहरीले नियन्त्रणमा लिन हवाई फायर गरेको छ ।
आफ्नो पार्टीका नेता एवं कोशी प्रदेशसभा सदस्य खगेनसिंह हाङ्गाममाथि प्रहरीले घरमै गएर हातपात र अभद्र व्यवहार गर्नुका साथै पेस्तोल ताकेको भन्दै काँग्रेस कार्यकर्ताले प्रहरी विरुद्ध प्रदर्शन गरेका थिए ।
तरुण दल र नेविसंघले शुक्रबार फुङलिङ बजारबाट निकालेको जुलुस जिल्ला प्रहरी कार्यालय अगाडि पुगेपछि उग्र बनेको थियो । जुलुसले प्रहरी कार्यालय र प्रहरी सहायता केन्द्रको भवनमा ढुंगामुढा गरेपछि प्रहरीले स्थिति नियन्त्रणमा लिन हवाई फायर गरेको हो ।
प्रदर्शनकारीले ताप्लेजुङ प्रहरीका डिएसपी राजन लिम्बूलाई निलम्बन गर्नुपर्ने माग राखेका छन् । प्रदर्शनपछि जिल्ला प्रशासन कार्यालय अगाडि आयोजित कोणसभालाई सम्बोधन गर्दै प्रदेशसभा सदस्य हाङ्गामले आफूविरुद्ध प्रहरीले नियोजित आक्रमण गरेको आरोप लगाए । जनप्रतिनिधिमाथि आक्रमण गर्ने प्रहरीबाट सर्वसाधारणले सुरक्षाको प्रत्याभूति गर्न नसक्ने उनको भनाइ थियो ।
उनले डिएसपी लिम्बूले व्यवसायीबाट रकम असुल्ने गरेको आरोप पनि लगाए । प्रहरीले भने मादक पदार्थ सेवन गरी हल्ला गर्दै हिंडेको समूहलाई प्रहरीले नियन्त्रण गर्न खोज्दा प्रदेशसभा सदस्य हाङ्गामले धम्की दिएको बताएको छ ।
खुकुरी र लाठीसहितको समूह हाङ्गामको निवासमा पसेकाले प्रहरीले उनीहरुलाई पक्राउ गर्न खोज्दा घटना भएको डिएसपी लिम्बुले बताए । उक्त समूहले प्रहरीको हतियार खोस्ने प्रयाससमेत गरेको उनले जनाए ।