
विराटनगर, २२ भदौ– कोशी प्रदेशका निवर्तमान मुख्यमन्त्री काँग्रेस नेता उद्धव थापाले एमाले र काँग्रेसको सरकार बन्ने सम्भावना रहेको बताएका छन् ।
अदालतको परमादेशमा मुख्यमन्त्रीमा नियुक्त भएका एमाले नेता हिक्मत कार्कीको सपथग्रहण समारोहमा सहभागी थापाले दुई प्रमुख दलले आधाआधा कार्यकाल बाँडेर सरकारको नेतृत्व गर्न सकिने बताए ।
शीर्ष नृतृत्व तहले दुई ठूला दल मिले सरकार बनाउने निर्णय गरे आफूहरुलाई स्वीकार्य रहेको उनको भनाइ थियो ।
कार्की नेतृत्वको सरकारले ३० दिनभित्र विश्वासको मत नपाए संविधानको धारा १६८ (५) अनुसार प्रदेशसभाको बहुमत जुटाउन सक्ने व्यक्ति मुख्यमन्त्री नियुक्त हुने बताए ।
त्यतिबेला आफूले ४७ जनाको समर्थनसहित मुख्यमन्त्रीमा दाबी पेश गर्ने उनको भनाइ थियो । उपधारा–५ अन्तर्गतको सरकारले विश्वासको मत लिन नसके प्रदेशमा मध्यावधि निर्वाचन हुने उनले स्पष्ट गरे ।
यद्यपि आफूहरु सकेसम्म मध्यावधि रोक्ने पक्षमा रहेको थापले बताए ।