
काठमाण्डु, २२ भदौ– नेपाल सामाजवादी पार्टीकी नेतृ एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई पुत्री मानुषी यमी भट्टराईले एमाले अध्यक्ष केपी ओली भेटेकी छन् ।
पति जेकेन्द्र श्रेष्ठसहित ओली भेट्न मानुषी उनकै निवास बालकोट पुगेकी थिइन् । भेटमा ओलीले युवा पुस्तामा मुलुकप्रतिको समर्पणभाव कमजोर हुँदै गएको भन्दै चिन्ता जनाएको मानुषीले बताइन् ।
‘देशको चिन्ता लागेर समसामयिक राजनीतिका बारेमा कुरा गरौं भनेर म उहाँलाई भेट्न गएकी थिएँ । औपचारिक कार्यक्रमबाहेक उहाँलाई एक्लै भेटेर कुरा गरेकी थिइँन ।
मैले युवा पुस्ताको आँखाबाट देखेको नेपाली राजनीतिबारे उहाँलाई बताएँ’, मानुषीले काठमाण्डुटुडेसँग भनिन्, ‘उहाँले ऐतिहासिक पृष्ठभुमिसहित विगत र वर्तमान नेपाली राजनीतिका विविध पक्षबारे कुरा गर्नुभयो । इतिहासमा फर्किएर हेर्दा नयाँ पुस्तामा देशभक्तिको भावना, राष्ट्रप्रतिको समर्पणभाव कमजोर हुँदै गएको । युवाहरु कस्मेटिक र सतही कुरामा पछि लागेको भन्ने विषयमा चिन्ता व्यक्त गर्नुभयो ।’
ओलीले युवा पुस्ता नेपालको इतिहासबारे ज्ञान नराखी भावनात्मक भएर भिडको पछि लागेको गुनासो गरे । बुधबार भएको भेटको तस्बिर मानुषीले शुक्रबार फेसबुकमार्फत मात्र सार्वजनिक गरेकी छन् ।
मानुषीले करिब दुई घण्टा लामो भेटमा ओलीले मुलुकमा बलियो राष्ट्रिय शक्ति बनाउनुपर्ने बताएको उल्लेख गरिन् ।
भेटमा मानुषीले सामान्य मानिसको जनजिविकाको अवस्था नाजुक बन्दै गएको भन्दै युवा शक्तिका लागि देशमै रोजगारी सृजना गर्ने विषयलाई राजनीतिक नेतृत्वले ध्यान दिनुपर्ने बताएकी थिइन् ।