
काठमाण्डु, २२ भदौ– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संघीय निजामती सेवा विधेयक छिट्टै संसदमा दर्ता हुने बताएका छन् ।
निजामति सेवा दिवसका अवसरमा शुक्रबार शुभकामना सन्देश जारी गर्दै उनले ऐन संघीय शासन प्रणाली कार्यान्वयनको अत्यन्त महत्त्वपूर्ण औजार भएको बताएका हुन् ।
‘संघीय निजामती सेवा ऐन यथाशक्य जारो होस् भन्ने सबैको भावना छ’, विज्ञप्तिमा भनिएको छ, ‘यसै भावना र मर्मलाई आत्मसात गर्दै सरकारले संघीय निजामती सेवा विधेयक मन्त्रिपरिषदबाट स्वीकृत गरी केही दिनभित्र संसद्मा दर्ता गर्ने तयारी गरिरहेको छ ।’
निजामती कर्मचारीहरू आफ्नो कार्यशैलीबाट सुशासनको प्रत्याभूति दिलाउने क्रममा जति क्षमतावान् छन् त्यति नै विश्वसनीयता कायम गर्दै राष्ट्रको सेवा गर्न सके मात्र राष्ट्रिय समृद्धिको सपना पूरा हुने बताए ।
संघीय शासन व्यवस्था अनुसार निजामती प्रशासनमा देखिएका कानूनी रसंरचनागत तथा कार्यगत समस्या समाधान गर्दै समयसापेक्ष व्यावहारिक नेतृत्वबाट चुस्तदुरुस्त नतिजामुखी र नागरिकमैत्री बनाउन आवश्यक रहेकामा उनको जोड छ ।
मुलुकको जस्तोसुकै प्रणालीमा जनतालाई सेवा प्रवाह, विकास र सङ्क्रमणकालीन शासन व्यवस्थामा पनि निजामती प्रशासनले पुर्याएको योगदान सधैँ प्रशंसनीय रहेको स्मरण उनले गरे ।