विद्युतीय धरापमा परी धनगढीमा महिलाको मृत्यु, धराप थाप्ने चौधरी पक्राउ

काठमाण्डु टुडे २०८० भदौ १९ गते ८:३७ मा प्रकाशित

काठमाण्डु, १९ भदौ– जंगली जनावरका लागि थापिएको विद्युतीय धरापमा परी धनगढीमा एक महिलाको ज्यान गएको छ ।

मृत्यु हुनेमा धनगढी उपमहानगरपालिका–३ की ३१ वर्षीया मञ्जु कुँवर छिन् । घर नजिकै खेतमा जंगली जनावरलाई थापिएको विद्युतीय धरापमा परी गएराति ११ बजेको समयमा उनको ज्यान गएको कैलाली प्रहरीका निरीक्षक सन्तोष बस्यालले बताए ।

गम्भीर घाइते कुँवरलाई उपचारका लागि स्थानीय माया मेट्रो अस्पताल लगिएकामा चिकित्सकले तत्काल मृत घोषणा गरेको प्रहरीले जनाएको छ । शव पोष्टमार्टमका लागि सेती प्रादेशिक अस्पतालमा राखिएको छ ।

यसैबीच प्रहरीले विद्युतीय धराप थाप्ने ४८ वर्षीय जंगलिया चौधरीलाई पक्राउ गरेको छ । चौधरीले जंगली जनावरबाट धानबाली जोगाउन विद्युतीय धराप थापेको बयान दिएका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us