
सिन्धुपाल्चोक, १५ भदौ– चीनसँगको उत्तरी तातोपानी नाकामा लामो समयपछि आजबाट मानव आवतजावत खुला हुने भएको छ ।
सिन्धुपाल्चोकका नागरिकका लागि मात्र चिनियाँ बजारमा आउजाउ गर्ने दिने गरी पहिलो चरणमा नाका खुला हुन लागेको हो । २०७२ वैशाख १२ गतेको महाभूकम्पपछि चीनले तातोपानी नाका पूर्ण रुपमा बन्द गरेको थियो ।
तिब्बतस्थित नेपाली महावाणिज्यदूत नवराज ढकालले तत्कालका लागि सिन्धुपाल्चोकका बासिन्दाका लागि र केही समयपछि सबैका लागि आवतजावत खुला गर्ने सहमति भएको जानकारी दिए ।
तातोपानी अध्यागमन कार्यालयले आजैदेखि अस्थायी र स्थायी पास वितरण थालेको छ । भूकम्पको चार वर्षपछि २०७६ जेठ दोश्रो साताबाट सामान आयात निर्यात खुलेको थियो ।
तर, कोभिड–१९ महामारी सुरु भएपछि ०७६ चैत ११ गतेबाट सामान ल्याउन लान पनि बन्द गरिएको थियो । सामान आयात निर्यात भने गत मे १ देखि सुचारु भइसकेको छ ।