काठमाण्डु, १० भदौ– जिल्ला प्रहरी प्रहरी परिसरका प्रमुख एसएसपी भूपेन्द्रबहादुर खत्रीले नेतृत्व परिवर्तन हुँदैमा प्रहरी अनुसन्धान प्रभावित नहुने बताएका छन् ।
परिसरको नेतृत्व सम्हालेपछि आइतबार पहिलोपटक पत्रकार सम्मेलन गर्दै खत्रीले यसअघि प्रक्रियामा रहेका कुनै पनि घटनाको अनुसन्धान प्रभावित नहुने प्रतिबद्धता जनाए ।
खत्रीले आफूले नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान प्रभावित नहुने गरी काम गर्ने उल्लेख गरे ।
कानुनले दिएको अधिकार प्रयोग गरी उक्त प्रकरणमा मुछिएका सबैलाई छानबिन र अनुसन्धानको दायरामा ल्याउने पनि स्पष्ट गरे ।
व्यावसायिक प्रहरी अधिृकतका रुपमा काम गर्दै आएको भन्दै उनले प्रहरीको काममा पार्टीगत र व्यक्तिगत सम्बन्धलाई कुनै ठाउँ नहुने भन्दै प्रहरी संगठनलाई राज्यले दिएको अधिकार र दायराभित्र रहेको काम गर्ने प्रतिबद्धता जनाए ।
खत्रीले शनिबार कार्यभार सम्हालेका हुन् । गृहमन्त्री नारायणकाजी श्रेष्ठले ४ भदौमा परिसर र उपत्यका अपराध महाशाखाका एसएसपी परिवर्तन गरेका थिए ।
यसअघि परिसर प्रमुख रहेका एसएसपी दानबहादुर कार्कीको प्रहरी मुख्यालयमा सरुवा भएको छ ।
नक्कली भुटानी शरणार्थी प्रकरणको छानबिन गरिरहेका बेला प्रहरी अधिकृतको सरुवा गरेको भन्दै सरकारको आलोचना हुँदै आएको छ ।