
काठमाण्डु, ९ भदौ– नेपालले महिला टी–२० सिरिजको उपाधि नेपालले जितेको छ ।
शनिबार मलेसियाको राजधानी क्वालालम्पुरस्थित बायुमास ओभल क्रिकेट मैदानमा भएको फाइनल खेलमा नेपालले हङकङलाई १३ रनले हराउँदै उपाधि हत्याएको हो । नेपालले ब्याटिङ गरिरहँदा वर्षा भएपछि खेलको छिनोफानो डकवर्थ लुइस पद्धतिका आधारमा गरिएको थियो ।
टस जितेर पहिला बलिङ रोजेको नेपालविरुद्ध हङकङले निर्धारित २० ओरमा ६ विकेट गुमाउँदै १ सय १ रन जोड्यो । १ सय २ रनको लक्ष्यका साथ मैदान उत्रिएको नेपालले पाँच दशमलव तीन ओभर खेल्दा वर्षा भएपछि खेल बीचैमा रोकियो ।
त्यतिबेलासम्म नेपालले एक विकेटको क्षतिमा ३७ रन बनाएको थियो । इन्दु बर्मा १९ तथा सीता राना मगर १३ रनका साथ खेल्दै थिए । त्यसअघि ब्याटिङ गरेकी काजल श्रेष्ठ उक रन पनि नजोडी आउट भइन् ।
हङकङका लागि याशमिन दासवानीले ११, का यिङ चानले २९, मारिना एन्तोनियाले १९ तथा शान्जिन शाहजादले अविजित १४ रन बनाइन् ।
बलिङतर्फ नेपालका लागि खुसी डंगोलले तीन तथा अश्मिना कर्माचार्य र कविता जोशीले एक÷एक विकेट लिइन् । फाइनल खेलको प्लेयर अफ दी म्याच नेपालकी खुसी डंगोल भइन् ।
नेपालले समूह चरणको पहिलो खेलमा हङकङलाई ६ विकेटले तथा दोस्रो खेलमा कुवेतलाई ३४ रनले हराएको थियो । तेश्रो तथा अन्तिम खेलमा भने नेपाल मलेसियासँग ६ विकेटले पराजित भएको थियो ।
महिला टी–२० सिरिजमा आयोजक मलेसियासहित नेपाल, हङकङ र कुवेत सहभागी थिए । नेपाली महिला टोली अब अगष्ट ३१ देखि मलेसियामै हुने आइसिसी महिला टी–२० विश्वकप एसिया क्वालिफायरको तयारीमा जुट्ने छ ।