
काठमाण्डु, ४ भदौ– एमालेले मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत लिने प्रयोजनका लागि बसेको कोशी प्रदेशसभा बैठकमा नाराबाजी भएको छ ।
बैठकको अध्यक्षता गरेका काँग्रेस सांसद इस्राइल मन्सुरीले मुख्यमन्त्री थापालाई विश्वासको मत दिएपछि प्रमुख प्रतिपक्षी एमालेले नाराबाजी गरेको हो ।
सभामुखको आसनबाट उठेर मन्सुरीले थापाका पक्षमा मत दिएका थिए ।
मत दिएर मन्सुरी फेरि सभामुख आशनमा बसेपछि एमाले सांसदले रोष्ट्रम घेराउ गरी नाराबाजी गरेका हुन् ।
एमालेले आफ्नो पार्टीकी उपसभामुख सिर्जना दनुवारलाई बैठकमा उपस्थित नहुन निर्देशन दिएपछि उनी बिरामी भएको बहाना बनाएर काठमाण्डु आएकी छन् ।
काँग्रेसका थापालाई मुख्यमन्त्रीमा मत दिन तत्कालीन सभामुख माओवादीका बाबुराम गौतमले राजीनामा दिएपछि बैठक चलाउने जिम्मेवारी उपसभामुख दनुवारको थियो । तर, आफैंले बोलाएको बैठकमा उनी उपस्थित भइनन् ।
सत्तापक्षले ज्येष्ठ सदस्य काँग्रेसका गयानन्द मण्डललाई कृषिराज्यमन्त्री बनाएको छ । त्यसपछिका ज्येष्ठ सदस्य एमाले र राप्रपाका ७ जनाले अनुपस्थित हुने सूचना हिजै प्रदेशसभा सचिवालयमा दिएका थिए ।