खराब मौसमले काठमाण्डु फर्कन सकेनन् प्रधानमन्त्री, सर्वदलीय बैठक ७ बजे

काठमाण्डु टुडे २०८० भदौ ४ गते १५:५० मा प्रकाशित

काठमाण्डु, ४ भदौ– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बोलाएको सर्वदलीय बैठक साँझ ७ बजेका लागि सरेको छ ।
खराब मौसमका कारण सुदूरपशिचमबाट प्रधानमन्त्री काठमाण्डु फर्कन नसकेपछि बैठकको समय पर सारिएको हो । कर्णाली प्रदेश स्थापना दिवसको कार्यक्रममा सहभागी हुन उनी सुर्खेत गएका छन् । यसअघि बैठक ४ बजेका लागि बोलाइएको थियो । संघीय संसदको अवरोध हटाउने प्रयास स्वरुप प्रचण्डले राष्ट्रिय मान्यता प्राप्त दलहरुसँग छलफल गर्न लागेका हुन् । यसअघि आइतबार पनि उनले दलहरुसँग छलफल गरेका थिए । तर, प्रमुख प्रतिपक्षी एमाले अध्यक्ष केपी ओली स्वास्थ्यको कारण देखाएर अनुपस्थित भएपछि बैठक पुनः आज बस्ने गरी स्थगन भएको थियो । एमालेले ६० केजी सुन तस्करी प्रकरण छानबिनका लागि उच्चस्तरीय समिति गठनको माग राखेर गत १० साउनयता संसद बैठक अवरुद्ध गर्दै आएको छ ।
आइतबार प्रहरीको केन्द्रीय अुसन्धान ब्युरो (सीआईबी) को अनुसन्धान प्रभावित नहुने गरी छानबिन समिति बनाउने विषयमा प्रधानमन्त्री लचक देखिएका थिए । प्रधानमन्त्रीले प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिलाई नै छानबिनको जिम्म दिन सकिने विकल्प पनि अघि सारेका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us