
काठमाण्डु, ४ भदौ– प्रस्तावित प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको संसदीय सुनुवाइ विशेष समितिमा बोल्दाबोल्दै गला अवरुद्ध भएको छ ।
श्रेष्ठ सुनुवाइका लागि समितिमा सोमबार उपस्थित भएका थिए । उनले प्रधानन्यायाधीश भएपछि गर्ने कार्ययोजना प्रस्तुत गर्नुका साथै सांसदहरुले उठाएका प्रश्नको जवाफ दिए ।
श्रेष्ठले न्यायापालिका सुधारका लागि आफूले कुनै कसर बाँकी नराख्ने बताए । सांसदका सुझावहरुलाई आफूले मनमा राखेको र व्यवहारबाटै गरेर देखाउने बताएका उनको एकाएक गला अबरुद्ध भयो ।
‘यहाँहरुको सुझाव मैले मनमा राखेको छु । म काममा देखाउनेछु’, उनले गला अवरुद्ध बनाउँदै भने, ‘न्यायपालिका सुधारका लागि कुनै कसर बाँकी राख्ने छैन ।’
उनले अदालतको जनआस्था घटाउने काम कसैले पनि गर्न नहुने उल्लेख गरे । उनले जनास्था बढाउने काममा निरन्तर अदालत सक्रिय हुने प्रतिबद्धता जनाए ।