
काठमाण्डु, ४ भदौ– कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले उपसभामुख श्रृजना दनुवारले प्रदेशसभा बैठक छलेर संसदीय मर्यादा तोडेको आरोप लगाएका छन् ।
थापाले सत्ता गठबन्धनको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै सोमबार विश्वासको मत लिने सम्भावना कम भएर गएको बताए । उपसभामुख दनुवार प्रदेशसभा बैठक छाडेर सोमबार काठमाण्डु हिंडेकी थिइन् ।
‘आफैँले बोलाएको बैठक छाडेर उपसभामुख काठमाण्डु हिंड्नुभएको जानकारी बिहान ९ बजेतिर दिनुभयो’, उनले भने, ‘उहाँले बोलाएको बैठकमा आफैं नहुँदा के गर्ने भन्ने निर्णय कार्यव्यवस्था परामर्श समितिले गर्छ ।’
थापाले थप छलफल गरेर विश्वासको मत लिनका लागि अर्को समय तोकिने बताए । मुख्यमन्त्रीले विश्वासको मत लिने प्रयोजनका लागि प्रदेशसभा बैठक सोमबार अपराह्न १ बजेका लागि बोलाइएको थियो ।
थापाले उपसभामुख एमालेको निर्देशनमा चलेको आरोप लगाए । यसअघि एमाले र राप्रपाका ७ ज्येष्ठ सदस्यले आजको बैठकमा उपस्थित हुन नसक्ने जानकारी प्रदेशसभा सचिवालयलाई गराएका थिए ।